टोक्यो- जापानका प्रमुख तेल आयातकर्ताहरुले अक्टोबरमा इरानबाट कच्चा तेलको आयात स्थगन गर्ने तयारी गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। अमेरिकाले इरानी कच्चा तेल आयात गर्ने मुलुकहरुमाथि नै प्रतिबन्ध लगाउने धम्की दिएलगत्तै यस्तो तयारी गरेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्पन्न सन् २०१५ को आणविक सम्झौताबाट अमेरिका बाहिरिने र इरानसँग व्यापार गर्नबाट अरु मुलुकलाई पनि रोक्ने गरी गत महिना नयाँ प्रतिबन्धहरु घोषणा गरेका थिए।

इरानको कच्चा तेल उद्योग र बैंकिङ क्षेत्रमाथि लक्षित गरी दोस्रो चरणका प्रतिबन्धहरु आगामी नोभेम्बर ५ देखि कार्यान्वयन गर्ने अमेरिकी भनाइ छ ।

जापानले इरानी तेल आयातलाई निरन्तरता दिने योजना अघि सारेको भएपनि त्यो सम्भव भएन, जीजी प्रेस र अरु सञ्चार माध्यमले जनाएका छन् । परिणामस्वरुप, जापानी तेल कम्पनीहरु इरानी कच्चा तेलको आयात रोक्ने तयारीमा लागेका हुन् । उनीहरु बजारको मागलाई सम्बोधन गर्न नयाँ गन्तव्यको खोजीमा लागेका छन् ।

व्यापार मन्त्रालयका एकजना अधिकारीले इरानी तेल खरिद गर्नेबारे अमेरिकासँग छलफल गरेको तर कुनै प्रगति हुन नसकेको बताए ।

“हामीले सरकारको निर्णयको प्रतिक्षा गरेका थियौं, तर अहिल्यै सबै कुरा सार्वजनिक गर्ने अवस्थामा हामी छैनौं,” तेलको थोकबिक्रेता कम्पनी शोवा शेल सेकियूका प्रवक्ताले बताए।