म्याग्दी-अन्नपूर्ण गाउँपालिका– ८ काफलडाँडाका बासिन्दाले श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन् ।
करबाकेली पर्यावरणीय पदमार्गअन्तर्गत करबाकेलीदेखि फूलबारीसम्म पदमार्ग निर्माण गरिएको हो। करबाकेली संरक्षण समितिको पहलमा काफलडाँडाका बासिन्दाले श्रमदान गरी तीन किलोमिटर लामो पदमार्ग निर्माण गरेको समितिका रवी गर्बुजा पुनले जानकारी दिए।
सत्तरी परिवारको बसोबास रहेको काफडाँडाका बासिन्दाले एक÷एक दिन श्रमदान गरेर नयाँ पदमार्ग निर्माण गरेका हुन् । उनीहरुले पुरानो पदमार्गको स्तरोन्नतिसमेत गरेका छन्।
पदमार्ग निर्माणपछि यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । गत वैशाखमा करबाकेली पदमार्गको पहिचान गरी नक्साङ्कन गरिएको थियो।