काठमाडौँ – अमेरिकी डलरको भाउ १ सय १५ रुपैयाँ नाघेको छ । केहि समयदेखि निरन्तर उकालो लागेको डलरको मूल्य बिहिबार १ सय १५ रुपैयाँ ११ पैसा पुगेको छ । यो अहिलेसम्म कै महंगो हो ।

नेपाल राष्ट्र बैंकले विहीबारका लागि एक अमेरिकी डलरको खरिद दर १ सय १४ रुपैयाँ ५१ पैसा तथा बिक्रिदर १ सय १५ रुपैयाँ ११ पैसा तोकेको छ ।

भारतसँगको स्थिर विनिमय दरका कारण भारतीय मुद्रा कमजोर हुँदा त्यसको प्रभाव नेपाली मुद्रामा पनि पर्ने गरेको छ ।

यसको असर नेपालमा पनि देखिन थालेको छ । खासगरी पेट्रोलियम पदार्थको मुल्य बढ्नुको कारण पनि यहि हो । बिहिबार बाट पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासको भाउ बढाएको छ । पेट्रोलमा लिटरको १ रुपैयाँ, डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ भाउ बढेको निगमले जनाएको छ ।

भाउ बढेपछि अब पेट्रोल लिटरको १ सय १२ रुपैयाँ, डिजेल र मट्टीतेल ९८ रुपैयाँ तथा खाना पकाउने ग्यासको मूल्य १४ सय रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको तथा अमेरिकन डलरको तुलनामा नेपाल र भारतीय रुपैयाँ कमजोर भएकाले भाउ बढाउनु परेको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।