काठमाडौं- प्रदेश सरकारले भोग्नुपरेका समस्या बारे छलफल गर्न सातवटै प्रदेशका मुख्यमन्त्रीहरु पोखरामा भेला भएका छन् । बिहीबार हुने भेलाका लागि मुख्यमन्त्रीहरु पोखरा पुगिसकेका छन् ।

मुख्य न्यायाधिवक्ताहरुको भेला सकिएको केही दिनमै सातै प्रदेशका मुुख्यमन्त्री भेला भएका हुन् ।

प्रदेश सरकारले भोग्नुपरेका समस्या, संघ सरकारसँगका अपेक्षा लगायत विषयमा छलफल गर्न मुख्यमन्त्रीहरु पोखरामा भेलामा जुटेका हुन् । बैठकमा एकै स्वरमा प्रदेशको आवाज उठाउने गरी पोखरा भेलामा छलफल हुनेछ ।

प्रधानमन्त्री अध्यक्ष रहने अन्तर प्रदेश परिषदको बैठक २४ भदौमा बस्न लागेको पूर्वसन्ध्यामा देशैभरको प्रदेशका सबै मुख्यमन्त्री पोखरामा भेला भएका हुन् ।

संघ सरकारले कानून निर्माण र कर्मचारी व्यवस्थापन नगरिदिँदा प्रदेशलाई काम गर्न अप्ठेरो परेको गुनासो मुख्यमन्त्रीहरुले गर्दै आएका छन् ।