दाङ- पटक-पटक सर्बोच्चले छाड्न निर्देशन दिँदै पक्राउ पर्दै आएका नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रबक्ता खड्गबहादुर विश्वकर्मालाई आज दाङ लगिने भएको छ । उनी विरुद्ध दाङमा मुद्दा परेको छ । त्यसका लागि ‘प्रकाण्ड’ लाई भोजपुरबाट प्रहरीले दाङ लैजाने भएको हो ।

प्रकाण्डलाई आजै जिल्ला अदालतमा उपस्थित गराउने जिल्ला प्रहरी कार्यालय दाङले तयारी गरेको छ । बुधबार जिल्ला अदालत भोजपुरबाट ६० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै प्रहरीले पुनः उनलाई पक्राउ गरेको थियो ।

प्रदेश तथा प्रतिनिधि सभा निर्बाचनको क्रममा तुलसीपुरमा बम बिष्पोटमा परी म्यादी प्रहरी अर्जुन चौधरीको मृत्यु भएको थियो । सोही घटनामा प्रकाण्डको नाममा उजुरी परेको छ ।

प्रकाण्ड बिरुद्ध भोजपुरमा तीन वटा मुद्दा दर्ता भएका र दुई मुद्दामा २५/२५ हजार र बाँकी एक मुद्दामा १० हजार धरौटीमा छाडिएको छ । प्रकाण्डलाई भोजपुरको प्रदेश ‘ख’ उम्मेदवार तथा पूर्बसञ्चारमत्री शेरधन राईलगायतको चुनाव प्रचार टोलीलाई लक्षित गरेर टेम्के मैयुङ गाउँपालिका ६ कोटमा सकेट बम बिष्फोटमा संलग्न भएको आरोप छ ।