साफ च्याम्पियनसिप अन्तर्गत नेपालले भुटानलाई ४-० गोल अन्तरले पराजित गरेको छ । बंगबन्धु रंगशालामा बिहिबार भएको खेलको पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा थप तीन गोल गरेको हो ।

नेपालले खेलमा अग्रता २१ औ मिनेटमा अनन्त तामाङको गोलबाट लिएको थियो । शुनिल बलको कर्नरमा अनन्तले गोल गरेका थिए । ६९ औ मिनेटमा सुनिलले नै नेपालको अग्रता दोब्बर पारे ।

विमल घर्तिमगरले प्रहार गरको पेनाल्टी असफल भएपछि फर्किएको बलमा सुनिल बलले गोल गरेका थिए । तेस्रो गोल भरत खवासको नाममा रह्यो । खवासले ७९ औ मिनेटमा गोल गरे ।

मैदान छिरेको चौथो मिनेटमा मध्यभागबाट एक्लै बल अघि बढाउदै भरतले गोल गरेका हुन् । खेल सकिन २ मिनेटबाँकी छदाँ निराजन खड्काले चौथो गोल गर्दै नेपाललाई फराकिलो अन्तरको जित दिलाए ।

योसंगै नेपालको सेमिफाईनल संभावना बलियो भएको छ । नेपालले अब शनिबार समुह चरणको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ ।