बिदुर-गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर शनिबार नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटना हुँदा ६ जनाको मृत्‍यु भएको छ भने एक जनाको जिवितै उद्धार गरिएको छ।

मृत्‍यु हुनेमा पाइलट निश्चल केसी, यात्रीहरु रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा छिरी शेर्पा, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, चुमनुब्री गाउँपालिका-१ सम्दोका छोवाङ नुर्वु र जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके७१३६१२०६८) रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

 

यस्तै हेलिकोप्टर दुर्घटनामा घाइते डोल्मा आनीलाई जिवितै उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याईएको छ । उद्धार टोलीले उनलाई उपचारका लागि काठमाडौँ ल्याएको हो । उनको मेडिसिटी अस्पताल नख्खुमा उपचार भइरहेको छ। बिहान ७:४० बजे सामागाउँबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा दुर्घटनामा परेको थियो।

यसैबीच, काठमाडौँबाट उद्धारका लागि आएको नेपाली सेनाको एक र निजी वायु सेवा प्रदायक कम्पनीको चार हेलिकोप्टर दुर्घटनास्थलमा घना जंगल र प्रतिकुल मौसमका कारण अवतरण गर्न नसक्दा काठमाडौँ फर्किएको छ। दुर्घटनामा परी मृत्यु भएकाको शव आइतबार बिहान मात्रै काठमाडौँ ल्याइने भएको छ।