एजेन्सी- इजिप्टमा ७५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । सन् २०१३ मा भएको विरोध प्रदर्शनको क्रममा सुरक्षाफौजद्वारा सयौँ प्रदर्शनकारीहरू मारिएको मुद्दाको सुनुवाइका क्रममा यस्तो सजाय सुनाइएको त्यहाँको एक अदालतले पुष्टि गरेको छ।

अन्य ४७ जनालाई आजीवन काराबासको सजाय सुनाएको छ । सजाय पाउनेमा इस्लामवादी नेताहरू पनि छन्।

सन् २०१३ मा तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्थ गरिएपछि मुस्लिम ब्रदरहुडले विरोध प्रदर्शन गर्ने क्रममा हिंसा भड्किएको थियो।

सामूहिक सुनुवाइका क्रममा एकजना फोटोपत्रकारसहित सात सयभन्दा धेरैलाई जेल सजाय पनि सुनाइएको छ।

सुनुवाइका क्रममा सजाय सुनाइएहरूमाथि हिंसा भड्काएको, हत्या तथा गैरकानुनी प्रदर्शनहरूको आयोजना गरेकोजस्ता सुरक्षासम्बन्धी अपराधहरू गरेको आरोप लागेको थियो।

सन् २०१३ मा राजधानी कायरोस्थित रबा अल-दविया स्केवयरमा भएको विरोधप्रदर्शनका क्रममा सुरक्षाकर्मीहरूद्वारा सयौँ जना मारिएका थिए। मानवअधिकारवादी समूह ह्युमन राईट्स वाचले सुरक्षाकर्मीहरूद्वारा कम्तीमा ८१७ जनाको हत्या गरिनु मानवताविरोधी एउटा अपराधसरह भएको जनाएको छ।

गत जुलाई महिनामा नै ७५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो तर शनिवार सो सजाय दिइएको पुष्टि भएको हो।