एजेन्सी- युइएफए नेशन्स लिग अन्तर्गत आइतबार राति भएको खेलमा फ्रान्स विजयी भएको छ । विश्व विजेता फ्रान्सले नेदरल्याण्डसलाई २–१ ले पराजित गरेको हो ।
समूह ए वानमा रहेको फ्रान्सले विश्वकपपछि पहिलो पटक घरेलु मैदानमा भएको खेलमा जित निकालेको हो ।
लिगको पहिलो खेलमा जर्मनीसँग गोलरहित बराबरी खेलेको फ्रान्सले दोश्रो खेलमा जित निकाल्यो । फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पे र ओलिभर जिरउडले गोल गरे ।
नेदरल्याण्डसका लागि बेबलले एक गोल फर्काए । एमबाप्पेले १४ औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ६७ औँ मिनेटमा रायन बेबलले नेदरल्याण्डसका लागि बराबरी गोल फर्काए ।
तर ७४ औँ मिनेटमा जिरउडले गोल गरेपछि फ्रान्स २–१ ले विजयी भयो । पेरिसमा भएको खेलमा फ्रान्सेली टिमले विश्वकपको उपाधि पनि प्रदर्शन गरेको थियो ।
गएको जुलाईमा रुसमा सम्पन्न विश्वकपमा क्रोएसियालाई ४–२ ले हराएर फ्रान्स विश्व विजेता बनेको थियो ।