काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ।

बैठकमा जिल्ला र जनवर्गिय संगठनको एकीकरणका विषयमा छलफल हुनेछ। त्यस्तै सरकारको समिक्षा समेत बैठकले गर्ने जनाइएको छ।

नेकपाले सचिवालय बैठक लगत्तै भोली र पर्सी स्थायी समिति बैठक डाक्ने तयारी गरिरहेको छ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ भित्र पार्टीका जिल्ला र जनवर्गिय संगठन एकीकरण भैसक्ने जनाएका छन्।

तर पूर्व एमालेका अध्यक्ष ओली पक्षधर र अर्का नेता माधवकुमार नेपाल पक्षधरबीच कतिपय प्रदेशमा जिल्ला नेतृत्वलाई लिएर सहमति जुट्न सकेको छैन।

अध्यक्ष पूर्व एमालेले पाए सचिव पूर्व माओवादीले पाउनेगरि जिल्ला तहमा एकीकरण टुङ्गो लगाउने निर्णय नेकपाले लिएको थियो।

त्यस्तै सरकारको विषयमा समेत बैठकमा छलफल हुनेछ। बहुमत प्राप्त सरकार भएपनि काम गर्न नसकेको गुनासो नेकपा भित्र छ। प्रचण्डले सरकारलाई प्रभावकारी बनाउन आवश्यक परे मन्त्री हेरफेर गर्न सक्ने बताइसकेका छन्। बैठक बिहान ११ बजे बालुवाटारमा डाकिएको छ।