एजेन्सी- पूर्वी अफगानिस्तानमा गरिएको एउटा आत्मघाती बम आक्रमणमा कम्तीमा ६८ जनाको मृत्यु भएको छ। पाकिस्तानसँगै जोडिएको नान्गरहार प्रान्तमा आत्मघाती आक्रमणकारीले स्थानीय प्रहरी प्रमुखको विरोध गरिरहेका मानिसहरूको समूहलाई निशाना बनाएको बताइन्छ।
मङ्गलवार भएको सो आक्रमणमा मृत्यु भएकाहरूको सङ्ख्या बढेर त्यति पुगेको हो। सो घटनामा घाइते भएका १६५ जनालाई स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ।
अफगानिस्तानमा केही समययता गरिएका आक्रमणहरूमा सयौँ जनाको मृत्यु भएको छ। त्यहाँ आउँदो अक्टुबर महिनामा निर्वाचन गरिँदैछ। मङ्गलवार गरिएको आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन। तर सो क्षेत्रमा लडाकु समूह इस्लामिक स्टेट सक्रिय रहेको छ।
यसअघि सोही प्रान्तमा भएका अरू दुई बम आक्रमणमा पाँच जना घाइते भएका थिए। अधिकारीहरूले संसदीय निर्वाचन नजिकिँदै गर्दा यस्ता आक्रमणहरू बढ्न सक्ने चेतावनी दिएका छन्। तालिबानसँग हुँदै आएको लामो सङ्घर्ष टुङ्ग्याउन कूटनीतिक पहल गरिँदै गर्दा हिंसात्मक घटनाहरू बढेका छन्।
यही हप्ता विभिन्न चार प्रान्तमा भएका सङ्घर्षमा दर्जनौँ सुरक्षाक्रमी र तालिबान लडाकुहरू मारिएका छन्। सरकारी फौजले केही स्थानमा भएका सङ्घर्षहरूमा तालिबानसँग हार बेहोरेको छ।
गत अगस्ट महिनामा तालिबान लडाकुहरूले गज्नीमा आक्रमण गरेर सो महत्त्वपूर्ण सहरलाई आफ्नो नियन्त्रणमा लिएका थिए।सन् २००१ मा अमेरिकी नेतृत्वको सैन्यले तालिबानलाई सत्ताबाट धपाएपछि भएका लडाइँमा दशौँ हजार अफगानको ज्यान गइसकेको छ।