काठमाडौं-अदालतले पटकपटक रिहा गर्न आदेश दिँदा पनि प्रहरीले तत्काल पक्रेपछि विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मालाई अदालतका मुख्य रजिस्ट्रारको रोहवरमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ।
प्रकाण्डलाई सरकार तथा मातहतका पदाधिकारीले गैरकानूनी रुपमा थुनामा राखेको देखिएको र अदालतको आदेश छल्दै पटकपटक पक्राउ गरिएकाले अदालत संवेदनशील भएको जनाएको छ।
प्रकाण्डका भाइ वीरेन्द्र विश्वकर्माले गैरकानुनी थुनामा राखेका भन्दै थुनाबाट मुक्त गरिपाउँ भनी बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए। प्रकाण्डलाई दाङको तुलसीपुर उपमहानगरपालिका ५ मा बम बिस्फोट गराई ड्युटीमा खटिएको म्यादी प्रहरी विनोद चौधरी र अन्य ८९ जना घाइते भएको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको थियो। घाइतेमध्ये बिनोद चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो ।
यही घटनाको अनुसन्धानका लागि भन्दै प्रकाण्डलाई दाङको देउखुरी अदालतबाट भदौ २० गतेबाट लागू हुने गरी पहिलो पटक ८ दिन म्याद थप गरी अनुसन्धान गरिएको थियो ।
तर अदालतले छोड्न आदेश दिएपनि परिसर सेरोफेरोबाटै फेरि पक्राउ गरेको र यो नेपालको संविधानले प्रत्याभूत गरेको वैयक्तिक स्वतन्त्रताको हकको उपभोग गर्नबाट बन्चित हुन गएको सर्वोच्चको आदेशमा जनाइएको छ।
आदेशमा भनिएको छ, ‘एउटै व्यक्तिको सन्दर्भमा पटकपटक आदेश जारी गर्नु परेको सन्दर्भमा कहिँ यस अदालतको आदेश निस्तेज पार्ने र छल्ने प्रयत्न गरिएको त होइन भन्ने आशंका भएको छ। विधिको शासन भएको लोकतान्त्रिक मुलुकमा यस्तो कार्य कदापि क्षम्य हुन नसक्ने र यस अदालतले गरेको आदेशको मर्यादा पालनाको लागि नेपालको संविधानको धारा १२८(४) को अधिनमा रही अन्य उपयुक्त आदेश समेत जारी गर्नु पर्ने अवस्था आउन सक्दछ।’
यस्तो अवस्था आउन नदिन राज्यका जिम्मेवार निकायहरु अझ बढी गम्भीर र जिम्मेवार हुनैपर्ने भन्दै आदेशमा नागरिकको वैयक्तिक स्वतन्त्रताको उपभोगको विषयमा सरकार तथा सरकार मातहतका निकायहरु असंवेदनशील र गैर जिम्मेवार हुने छुटको लागि यो अदालत मौन रहन नसक्ने तर्फ विपक्षी नेपाल सरकार र सरकार मातहतका निकायहरु र जिम्मेवार पदाधिकारीको ध्यानाकर्षण गराइएको उल्लेख छ।
प्रकाण्डलाई गैर कानूनी थुनामा राखेको देखिँदा शुक्रबार नै बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहरिएकाले अदालतका मुख्य रजिस्ट्रारको रोहवरमा छाडि सोको निस्सा मिसिल सोमल राख्न संक्षिप्त आदेश जारी गरेको छ। आदेशको पूर्णपाठ तयार गर्न समय लाग्ने भएकाले संक्षिप्त आदेश जारी गरिएको अदालतको फैसलामा उल्लेख छ।
यसैबीच विश्वकर्मा शुक्रबार सर्वोच्चको आदेशलगत्तै छुटे पनि केहीबेरमै प्रहरीले अदालतको आदेश अवज्ञा गर्दै उनलाई पक्राउ गरेको छ।