काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरका १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने हत्यारालाई छिट्टै पक्राउ गरी सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
गृहमन्त्री थापाले कञ्चनपुरका महिला अधिकारकर्मी र पीडित परिवारसँग शुक्रबार साँझ काठमाडौंमा भएको भेटमा हत्यारा नजिक पुगिएको उल्लेख गर्दै छिट्टै सार्वजनिक गर्ने आश्वासन दिएका हुन।
हत्यारालाई छिट्टै सार्वजनिक गरी पीडितलाई न्याय दिने आश्वासन गृहमन्त्री थापाले दिएको कञ्चनपुरकी अधिकारकर्मी शारदा चन्दले जानकारी दिइन्। उनले भनिन्, ‘ गृहमन्त्री थापाले पीडितलाई न्याय दिने आश्वासन दिनु भउको छ। हेरौ न्याय पाउने आशा पलाएको छ। अब के हुन्छ।’
यस्तै हत्या गरिएकी निर्मलाका बुबा, आमा र स्थानीय अधिकारकर्मीहरुले गृहमन्त्री थापासँगको भेटमा सरकारले गठन गरेको उच्च स्तरीय छानबिन समितिमा स्थानीय नागरिकका तर्फबाट एक जना पनि प्रतिनिधित्व नगराएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका थिए।
नागरिक समाजलाई समेत समेटेर छानवीन समिति गठन नगरिएको विषयमा पनि गृहमन्त्रीको ध्यानाकर्षण गराइएको पनि अधिकारकर्मीले चन्दले बताइन्।
बलात्कारपछि हत्या गरिएकी निर्मलाका पीडित परिवारले लामो समयसम्म पनि न्याय नपाएपछि पीडित परिवार र कञ्चनपुरका अधिकारकर्मीहरु न्यायको खोजिमा काठमाडौं आईपुगेका छन।
उनीहरुले हत्यारालाई सार्वजनिक गरी कडा कार्वाही नगरेसम्म काठमाडौंबाट नफर्कने चेतावनी पनि सरकारलाई दिएका छन्।
बिहीबार निर्मलाका परिवासहित कञ्चनपुरका महिला अधिकारकर्मी र स्थानीयहरुको अगुवाइमा माइतीघर मण्डलामा दीप प्रज्जवलन गरिएको थियो भने शुक्रबार नयाँ बानेश्वरमा स्कुलका विद्यार्थीहरुले निर्मलाका न्यायका लागि प्रदर्शन गरेका थिए।