काठमाडौं-  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै काठमाडौँमा वृहत्त प्रदर्शन गरिएको छ। उनको बलात्कारपछि हत्या भएको घटनामा सरकारले अहिलेसम्म अपराधी पत्ता लगाउन नसकेको र उल्टै नक्‍कली अभियुक्त तयार पारेको भन्दै त्यसविरुद्ध राजधानी काठमाडौंमा प्रदर्शन गरिएको हो।

काठमाडौँको माइतीघर मण्डलबाट सुरु भएको प्रदर्शनमा स्वस्फूर्त रुपमा हजारौँ नागरिक नयाँ बानेश्‍वरमासम्‍म नारा लगाएका थिए। प्रदर्शनमा सहभागीहरुले निर्मलालाई न्याय दे, बलात्कारीलाई फाँसी दे, शान्ति सुरक्षा कायम गर, अपराधी संरक्षण गर्नेलाई कारबाही गर लगायतका नारा लगाइरहेका छन्।

साउन ९ गते साथीको घरमा गएकी बालिका निर्मला पन्त त्यसको भोलिपल्ट उखुबारीमा मृत भेटिएकी थिइन्। उनको बलात्कारपछि हत्या भएको पोष्टमार्टम रिर्पोटबाट पुष्टि भइसकेको छ।तर घटनाका दोषी अहिलेसम्म पत्ता लाग्न सकेको छैन।

आफ्नी छोरीका हत्यारालाई कारबाहीको माग राख्दै निर्मलाका आमाबुवा केही दिनअघि मात्रै काठमाडौँ आएका छन्। उनीहरुले शुक्रबार गृहमन्त्रीलाई भेटेर आफ्नी छोरीलाई न्याय दिन भन्दै ज्ञापन बुझाएका थिए भने बिहीबार माइतीघरमा दीप प्रज्जवलन गरेका थिए।