एजेन्सी- चेल्सीले प्रिमियर लिगमा लगातार पाँचौ जित हासिल गरेको छ । शनिबार कार्डिभलाई ४–१ ले हराउँदै चेल्सीले शतप्रतिशत नतिजालाई निरन्तरता दिएको हो । टोलीको जितमा इडेन हाजार्डले ह्याट्रिक गरेका थिए ।
सिजनमा पहिलो पटक चेल्सी खेलमा पछि परेको थियो । सोल बाम्बाले १६ औं मिनेटमा कार्डिभका लागि गोल गरेका थिए । ३७ औं मिनेटमा चेल्सीका लागि बराबरी गोल गरेका हाजार्डले अर्को गोल पनि पहिलो हाफमै गरे ।
ओलिभर जिरोर्डको पासमा हजार्डले पहिलो हाफका लागि एक मिनेट बाँकी रहँदा गोल गरे । ८० औं मिनेटमा हाजार्डले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गरे । विलियनले ८३ औं मिनेटमा गोल गदैै चेल्सीको अन्तरलाई फराकिलो बनाए । आठ वर्षयता लिगमा चेल्सीको यो राम्रो सुरुवात हो । कार्डिभ भने अझै पहिलो जितका लागि प्रयासरत छ ।
त्यसअघि शनिबारनै लिभरपुलले टोटेनह्यामलाई २–१ ले हराएको छ । लिभरपुल र चेल्सी मात्रै खेलका सबै खेल जित्ने टोली हुन् । अन्य खेलमा बोर्नमाउथले लेस्टरसिटीलाई ४–२, क्रिस्टिल प्यालेसले हडरर्सफिल्डलाई १–०, म्यानचेस्टर सिटीले फुलह्यामलाई ३–० र आर्सनलले न्युक्यासललाई २–१ ले हराएको छ ।