एजेन्सी- स्पेनिस लिगको साविक विजेता बार्सिलोनाले दोस्रो हाफको तीन मिनेटको अन्तरमा दुई गोल गर्दै रियल सोसीडाडलाई २-१ ले पराजित गरेको छ । यस नतिजासँगै ला लिगामा शत प्रतिशत नतिजा कायम राखेको छ ।

पहिलो हाफमा पछाडी पारेको बार्सिलोनाले दोस्रो हाफमा लगातार गोल गर्दै जितको सिलसिला कायमै राख्यो । खेलको १२ औं मिनेटमा बार्सिलोनाको डिफेन्सले फ्रिकिक क्लिअर गर्न नसक्दा अरिट्ज एलुस्टोन्डोले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा लुइस सुआरेज तथा त्यसको केहि मिनेटमै ओस्मान डेम्बेलेले गोल गर्दै खेलमा बार्सालाई अग्रता दिलाए ।

बार्सिलोना खेलमा फर्केलगत्तै सोसोडाडले बराबरी गर्ने तीन अवसरको सदुपयोग गर्न सकेन । बार्सिलोनाका गोलरक्षक मार्क आन्देर टेर स्टेगनले उत्कृष्ट बचाउ गर्दै खेलमा अग्रता कायम राखे । उनले रियल म्याड्रिडबाट लोनमा आएका थियो हर्नान्डेज र जुआन्मीको प्रहार बचाएका थिए । खेलको अन्तिम समयमा पनि जुआन्मीले हेडरमा गोल गर्न नसक्दा सोसीडाडले अंक जोड्न सकेन ।

पहिलो हाफमा खराब प्रदर्शन गरेको बार्सिलोनाले विपक्षी गोलरक्षकको गल्तिको फाइदा पनि उठाउन सकेको थिएन ।

लिगको शनिबारकै खेलमा एटलेटिको म्याड्रिड र एइबारको खेल १-१ को बराबरीमा टुंगिएको थियो ।