काठमाडौँ-सरकारले मुलुकी फौजदारी (अपराध) संहिताको अनुसूची हेरफेर गरी सबै प्रकारका ठगी मुद्दाको बादी नेपाल सरकार हुने गरी संशोधन गरेको छ।
आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरको हो।

यस्तै बैठकले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षमा झापाका मदन खरेललाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए। उनले भने, ‘नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षमा झापाका मदन खरेललाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ भने चालू आर्थिक वर्षका लागि एक लाख टन चिनीको कोटा निर्धारण गरेको छ।’

उनका अनुसार उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने निर्णय गरिएको छ। यस्तै नेपालको संविधानको धारा २७७ अनुसार राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट प्रकारको योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई विभूषित गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए।

त्यस्तै नेपालगञ्जको खजुरामा रहेको कपास विकास समितिको नाम परिवर्तन गरी राष्ट्रिय कपास विकास समिति बनाउने निर्णय गरेको छ।