काठमाडौं- साउदी अरबमा कार्यरत नेपाली श्रमिकको तलवब बढेको छ। ६ वर्षपछि साउदीको न्यूनतम ज्यालामा पुनरावलोकन भएको हो। अब न्यूनतम मासिक १३ सय रियाल अर्थात ४० हजार नदिए साउदीमा नेपाली कामदार नपठाइने भएको छ।

मासिक तलब कम्तिमा एक हजार रियाल र खाना वापत ३ सय रियाल नदिने कम्पनीमा अब श्रम स्वीकृति रोकिने छ। नेपाल सरकारले तोकेको ज्याला दिने कम्पनीले भने नेपाली कामदार लैजान स्वीकृति पाउने छन्।

गत शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले श्रा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गरेको प्रस्ताव स्वीकृत गरेको हो।

अब साउदी जाने अदक्ष नेपाली कामदारले न्यूनतम ज्याला एक हजार रियाल र खाना भत्ता तीन सय गरी कम्तीमा १ हजार ३ सय साउदी रियाल पाउने छन् । यसअघि मासिक ज्याला ८ सय र खाना वापत २ सय गरी जम्मा एक हजार रियाल मात्रै रहेको थियो।

दक्ष कामदारको भने ज्याला ११ हजार ५ सय रियालसम्म तोकिएको छ। दक्ष कामदारको तलव ११ हजार रियाल र खानावापत ५ सय रियाल तोकिएको हो।

साउदी जाने कामदारको औषधि–उपचार, आवास, यातायात, आतेजाते हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउनुपर्नेछ। सरकारको यो निर्णय अब राजपत्रमा प्रकाशित भएको मितिदेखि नै लागू हुनेछ।