एजेन्सी – यहि सिजन इटालियन च्याम्पियन युभेन्टसबाट एसी मिलान गएका गोन्जालो हेगुइनले नयाँ क्लबबाट पहिलो गोल गरेका छन् । इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा एसी मिलान काग्लिएरीसँग १–१ को बराबरीमा रोकियो ।

अवे मैदानमा भएको खेलमा एसी मिलानलाई हारबाट जोगाउन हेगुइनले बराबरी गोल फर्काएका हुन्। चौथो मिनेटमा नै गेराल्डिनो डस सान्तोस गाल्भाओले गोल गर्दै काग्लिएरीलाई सुरुवाति अग्रता दिलाए ।

पहिलो हाफमा पछि परेको एसी मिलानका लागि ५५ औँ मिनेटमा हेगुइनले बराबरी गोल फर्काए । लोनमा युभेन्टसबाट आएका हेगुइनले यसअघिका दुई खेलमा गोल गर्न सकेका थिएनन् ।

यो खेलमा भने उनले गोल गर्दै टिमलाई हारबाट जोगाए । बराबरीपछि चार खेलबाट चार अंक जोडेको एसी मिलान चौधौँ स्थानमा छ ।