एजेन्सी- युभेन्ट्स विंगर डग्लस कोस्टालाई क्लबले सासुओलोविरुद्ध गरेको खराब व्यवहारका लागि छुट्टै कारवाही गर्ने भएको छ । आइतबर क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि इटालियन लिगको खेलमा युभेन्ट्सले २-१ को जित हात पारको थियो ।

रोनाल्डोको दुई गोल भने कोस्टाले सासुओलोका फेडेरिको फ्रान्सेसकोलाई गरेको खराब व्यवहारको कारण छायाँमा पर्यो । कोस्टाले खेलदौरान फ्रान्सेसकोलाई सुरुमा कुइनो र टाउकोले हान्नुको साथै अन्त्यतिर थुकेका थिए । यसकारण रेफ्रीले उनलाई थुकेपछि भने रातो कार्ड दिंदै मैदानबाहिर पठाए ।

खेलको अन्तिम समयमा भएको यस व्यवहारले खेलको सम्पूर्ण ध्यान त्यसतर्फ गएको थियो । कोस्टाले यस व्यवहारका लागि कम्तिमा पनि ३ खेल प्रतिबन्ध भोग्ने छन् । क्लब र लिग दुवैले उनलाई थप कारवाही गर्ने सम्भावना छ ।

विपक्षी खेलाडीले उनलाई त्यसो गर्न उत्तेजित गरेको भएपनि युभेन्ट्स प्रशिक्षक मासीमिलानो एलेग्रीले क्लबले यस व्यवहार स्वीकार नगर्ने र कडा कारवाही गर्ने बताएका छन् । ‘उनले कारवाही भोग्ने छन् । यसको लागि मसंग अन्य कुनै शब्द छैन । उनले निकै खराब कार्य गरेका छन्,’ एलेग्रिले भने, ‘ उनले गरेको व्यवहार देखेर म आफैं अचम्मित छु । हामीले उनको रातो कार्डका कारण उनलाई आउने खेलमा प्रयोग गर्न पाउने छैनौं । त्यसैले पनि उनले अझै कारवाही भोग्ने छन् ।’