एजेन्सी, असोज १। क्रिस्टियानो रोनाल्डोले युुभेन्टसमा गोलको खडेरी तोडेका छन् । पोर्चुगिज स्टारको २ गोलको मद्दतमा युभेन्ट्सले आइतबार सासाउलोलाई २–१ ले हराएको छ ।

नयाँ सिजनको सुरु भएपछिका तीन खेलमा ३३ वर्षे रोनाल्डो गोल विहिन थिए । तर, चौथो खेलमा आइपुग्दा उनले दुुई गोल गरे । खेलको दोस्रो हाफको पाँच मिनेटमै उनले सहज ट्यापमा गोल गरेका थिए ।

युभेन्ट्सका लागि ४ खेलमा २८ आक्रमणमा रोनाल्डो गोल गर्न असफल भएका थिए । आइतबारको खेल रोनाल्डोका लागि विशेष थियो , ६५ औं मिनेटमा उनले अर्को गोल थपे र टोलीलाई मजबुत अवस्थामा पुर्याए । इन्जुरी समयको पहिलो मिनेटमा खोमा बाबाकारले गोल गरे पनि युभन्ट्सलार्ई जितबाट रोक्न सकेनन् ।

युभेन्ट्सले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो । डगलस कोस्टाले इन्जुरी समयमा रातो कार्ड पाए । ४ खेलमा शतप्रतिशत नतिजासहित युभेन्ट्स शीर्षस्थानमा छ ।

यस खेलमा दुई गोल गरेसँगै रोनाल्डोले ४ यस्तो कीर्तिमान कायम गरेका छन् । हाल उनको क्लब र देशका लागि कुल गोल संख्या ६ सय ६० पुगेको छ । वर्तमान खेलिरहेका खेलाडीमा मेसी ६ सय २१ गोल सहित दोस्रो स्थानमा छन् ।

उनले पछिल्ला ६ सिजनमा युरोपको शीर्ष क्लब प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधि आफ्नो नाम गरेका छन् । यसका साथै उनले लिग फुटबलमा पनि आफ्नो गोल गर्ने शैलीमा कायम राखेका छन् । आइतबार गरेको दुई गोलसँगै उनले लिग फुटबलमा ४ सय गोलको आँकडा पूरा गरेका छन् । यसक्रममा उनले लिग फुटबलमा ५ सय १७ खेल मात्र खेलेका छन् । सन् २००९ देखि  रियल म्याड्रिडका लागि मात्र उनले ३ सय ११ गोल गरेका छन् ।

रोनाल्डोले लिग फुटबलमा ४ सय गोल पुरा गर्दै फुटबल इतिहासकै सर्वकालीन महान खेलाडीको माझ आफूलाई उभ्याएका छन् । ३३ वर्षको उमेरमा उनले अझै धेरै फुटबल खेल्न बाँकी छ । युभेन्ट्ससँग नै उनको लामो सम्झौता रहेको छ । आउने दिनमा उनले यस सुचिमा रहेका अन्य खेलाडीलाई पनि उछिन्ने प्रबल सम्भावना छ ।

आइतबार सिरिएका अन्य खेलमा साम्पडोरियाले फ्रोसिनोनेलाई ५–० ले, गिनाओले बोलोग्ना एसीलाई १–० ले हरायो । रोमा र एसी किएभो भेरोनाले २–२ तथा उडिनेसी र टोरिनोले १–१ को बराबरी खेले ।