काठमाडौँ-प्रतिव्यक्ति कुल राष्ट्रिय आय हेर्ने हो भने नेपालसँग भारतको तुलना नै हुँदैन भन्दा पनि हुन्छ।नेपालको त्यस्तो आय दुई हजार चार सय ७१ अमेरिकी डलर छ भने भारतको ६ हजार तीन सय ५३।

तर, नागरिकहरूको औसत आयु हेर्ने हो भने नेपाल भारतभन्दा अगाडि देखिन्छ। अनि, श्रम बजारमा सक्रिय महिलाको संख्यामा त भारत नेपालभन्दा निक्कै पछाडि देखिन्छ।

गत शुक्रबार अबेर राती सार्वजनिक एउटा महत्त्वपूर्ण मानिने मानव विकास प्रतिवेदन हेर्दा यस्तै विवरण भेटिन्छन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल मध्यमखाले मानव विकास भएको मुलुकमा परेको छ। तर, त्यस सूचकको एउटा आधार मानिएको औसत आयुमा नेपाल दक्षिण एसियाका कतिपय छिमेकी मुलुकहरूको तुलनामा अगाडि देखिन्छ।

नेपालभन्दा झण्डै तीन गुणा बढी प्रतिव्यक्ति औसत राष्ट्रिय आय भएको दक्षिणी छिमेकी भारतका नागरिकको औसत आयु नेपालीको तुलनामा कम छ।

प्रतिवेदनअनुसार नेपालीको औसत आयु ७०.६ वर्ष छ भने भारतीयको ६८.८ वर्ष मात्र। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्याक्ष स्वर्णिम वाग्ले नेपालीको ‍औसत आयु तुलनात्मक रूपमा भारतको भन्दा राम्रो हुनुमा करिब अढाई दशकदेखि नेपालले शिक्षा र स्वास्थ्यमा बढाउँदै गएको लगानी मुख्य कारण भएको बताउँछन्।

उनी आय बढी हुँदैमा कुनै पनि मुलुकका जनताको आयु बढ्न नसक्ने दाबी गर्छन्। “आय वृद्धि हुँदैमा मानव विकासमा स्वचालित लगानी नहुने रहेछ। त्यसका लागि राज्यले नै लाग्नुपर्‍यो,” उनले भने, “आय वृद्धि भएको ठूलो अंशचाहिँ मानव विकासका क्षेत्रहरूमा पनि लगानी गर्नुपर्दछ।”-बीबीसी