एजेन्सी – चर्चित विमान निर्माण कम्पनी बोइङले आउँदो पिँढीको पहिलो विमान सार्वजनिक गरेको छ ।
७७७ एक्स–९ लाई आगामी युगको सबैभन्दा आधुनिक विमान बताइएको छ जसको बाहिरी निर्माण सम्पन्न भइसकेको कम्पनीले जनाएको हो । उडानका लागि भने अझै तयारी बाँकी रहेकाले कम्पनीले विमानको पहिलो झलक मात्र प्रस्तुत गर्न खोजेको सीएनएनले जनाएको छ ।
अबको एक वर्षसम्म भने जमिनमै यसमाथि निरन्तर परीक्षण गरिने र सन् २०२० मात्र यसले पहिलो उडान भर्ने बताइएको छ ।
विशेषगरी यसको पङ्खा र इन्धन बचतमा कम्पनीले विशेष ध्यान दिएको छ । कम्पनीको ९९ वर्षे इतिहासमै यो विमानको पङ्खा सबैभन्दा लामो बनाइएको बताएको हो जसको चौडाइ २३५ फिट, पाँच इन्च रहेको छ । यसको फोल्ड गर्न मिल्ने पङ्खामा लगाइएको ‘लकिङ पिन’ मात्र १२ फिटको रहेको छ जसले उडानको समयमा पङ्खालाई खुम्चिन नदिने बताइएको हो ।
वास्तवमा सो पङ्खाले विमानको उडानलाई थप सहज बनाइदिने हुँदा इन्धन प्रयोग पनि कम हुन जाने बताइएको हो । यस अन्र्तगत यो विमानले कूल १२ प्रतिशत बढी इन्धन बचत गर्ने बताइएको छ ।
अरु आधुनिक विमान जसरी नै यसमा यसको मुख्य भाग पनि आल्मुनियमले बनाइएको तर पङ्खाहरुमा भने विशेष परिवर्तन ल्याइएको हो । तिनीहरुलाई एकदमै बलियो तर अत्यन्तै हलुका कार्बन र फाइबरले बनाइएको छ जसकै कारण थोरै इन्धन लाग्ने छ । सो कार्बन निर्माण गर्न पनि धेरै लामो प्रक्रिया अपनाइएको बताइएको कम्पनीको भनाइ छ । विमानको अधिकतम रेन्ज भने १४ हजार किलोमिटर रहेको छ । यसका लागि एमिरेट्स, अल निप्पोन र लफ्हान्सा जस्ता कम्पनीले अर्डर दिइसकेको बताइएको छ ।
अर्कोतर्फ बोइङको यस नयाँ विमानलाई इन्जिनियरिङ क्षेत्रको क्रान्ति पनि मानिएको छ जसले केबल दुईवटा इन्जिनकै भरमा लामो दुरीको यात्रा तय गर्न सक्नेछ भने साथै इन्धन पनि बचत गर्नेछ । त्यसैगरी बोइङले ७७७–८एक्स को निर्माणमा पनि काम सुरु गरिरहेको छ जसले धेरै लामो समय यात्रा गर्न सक्नेछ तर यात्रु क्षमता भने कम हुने बताइएको छ।