एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा लिभरपुल विजयी भएको छ । पेरीस सेन्ट जर्मन पीएसजीलाई ३–२ को गोलले पराजित गर्दै लिभरपुरले विजयी सुरुवात गरेको छ ।
घरेलु मैदान एनफिल्डमा नेयमार र एमबाप्पे प्रेरित पीएसजीलाई पराजित गर्न लिभरपुलका ड्यानियल,जम्स मिल्नर र रोबोर्टो फिरमिनोले समान १–१ गोल गरे । पिएसजीका थोमस म्युनियर र केलिन एमबाप्पेले १ गोल फर्काएपनि टोलीलाई विजयी बनाउन सकेनन् ।
समुह सी अन्तगर्तको आफनो पहिलो खेलमा घरेलु मैदान र दर्शकको साथ पाएको लिभरपुलले खेलको ३० औ मिनेटमा ड्यानियलको गोलबाट अग्रता लिएको थियो । लगतै ६ मिनेटपछि पीएसजीका खेलाडीले फल गरेपछि पाएको पेनाल्टीमा मिल्नरले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए ।
तर त्यसको ४ मिनेटपछि पीएसजीका थोमसले एक फर्काए । थोमसको गोलसँगै पहिलो हाफमा २–१ ले पछि परेको पीएसजीले ८३ औं मिनेटमा केलिन एमबाप्पेको गोलबाट खेलमा २–२ को बराबरी गर्यो । बराबरीपछि दुबै टोली आक्रामक बने ।
तर लिभरपुलले खेलको इन्जुरी समयमा बाजी मार्यो । ९१ औं मिनेटमा फिरमिनोको निर्णायक गोलले लिभरपुल घरेलु मैदानमा ३–२ ले विजयी भयो ।
पाहुना टोली पीएसजीका बाज्रिलियन स्टार नेयमारले गोल गर्न सकेनन् भने लिभरपुलका लागि इजिप्टका मोहमद सलाहले दोस्रो हाफमा गोल गरेपनि रेफ्रीले मान्यता दिएन् । गत सिजन फाइनलमा स्पेनिस क्लब रियल मड्रिडसँग पराजित लिभरपुल यो सिजनको उपाधि जित्ने लक्ष्यमा छ ।