एजेन्सी- दक्षिण कोरिया र उत्तर कोरियाले दुई देशको सम्बन्ध बिस्तारका लागि बिस्तृत सम्झौता गरेका छन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इन र उत्तर कोरियाका नेता किम जोन–उनले प्योङ्गयाङमा भएको वार्तामा दुई देशको सम्बन्ध सुधारका नयाँ पहल थालेका हुन् ।

दुवै नेताले दुई कोरियाको नयाँ भविष्यको सुरुवात भएको बताएका छन् । दुवै कोरिया कोरियाली प्रायद्विपलाई परमाणु निशस्त्रिकरण गर्न सहमति भएको दक्षिण कोरियाका राष्ट्रपति मुनले बताएका छन् ।

उत्तर कोरिया र दक्षिण कोरियाले दुई देशलाई जोड्ने रेल वे सेवा सञ्चालन गर्ने योजना पनि बनाएका छन् । यसले कोरिया युद्धका बेला बिछोडिएका परिवारको पुनर्मिलनमा सहजता आउने अपेक्षा छ । यस्तै स्वास्थ्य सेवामा प्रभावकारी काम गर्ने पक्षमा पनि सहमति भएको छ ।

मुनसँगको वार्ता कोरियाली प्रायद्विपमा सैन्य शान्ती स्थापनाका लागि ठूलो फड्को रहेको उत्तर कोरियाका नेता किमले बताएका छन् ।

बिस्तृत सम्झौतामा हस्ताक्षर गरेपछि दक्षिण कोरियाका राष्ट्रपति मुनले भने, ‘उत्तर कोरिया तोङ्च्याङ्ग–री मिसाइल परीक्षण केन्द्र स्थायी रुपमा बन्द गर्न सहमत भएको छ ।’

उत्तर कोरियाका नेता किमले निकट भविष्यमै दक्षिण कोरियाको भ्रमण गर्ने प्रतिबद्धता पनि जनाएका छन् । यदी यो भ्रमण भएमा उत्तर कोरियाका नेताले गरेको पहिलो दक्षिण कोरिया यात्रा हुनेछ ।

यस्तै दुई कोरियाले सन् २०३२ को ओलम्पिक गेम्स संयुक्त रुपमा आयोजना गर्नेका लागि पहल गर्ने भएका छन् । दक्षिण कोरियाका रक्षा मन्त्री र उत्तर कोरियाको सेनाबिच पनि एक सम्झौतामा हस्ताक्षर भएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनसहितको टोली मंगलबार उत्तर कोरिया गएको हो । दक्षिण कोरियाका राष्ट्रपति मुनलाई उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले प्योङ्गयाङमा स्वागत गरेका थिए । यस्तै मुनकी श्रीमतीलाई उनकी श्रीमतीले स्वागत गरिन् ।

उत्तर कोरियाका नेता किमले कुनै पनि पाहुनालाई विमानस्थल नै पुगेर स्वागत गरेको यो पहिलो पटक हो । दक्षिण कोरियाका नेता मुनले उत्तर कोरियामा तीन दिन बिताउने छन् ।

सन् २००७ यता दक्षिण कोरियाका शीर्ष नेताले उत्तर कोरियाको औपचारिक लामो भ्रमण गरेको यो पहिलो पटक हो ।