एजेन्सी- म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग फुटबलमा प्रभावशाली जितसहित यात्रा सुरु गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा बुधबार राति समूह एचमा रहेको म्यानचेस्टर युनाइटेडले योङ्ग ब्वाइजमाथि ३–० को जित दर्ता गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा पउल पोग्बाले दुई तथा एन्थोनी मार्सलले एक गोल गरे । पोग्बाले पहिलो हाफमा दुई गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए ।

३५ औँ मिनेटमा पोग्बाले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । उनले ४४ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेपछि टिमको अग्रता दोब्बर भयो ।

६६ औँ मिनेटमा मार्सलले गोल गरेपछि जोसेको टिमले ३–० को जित निश्चित गरेको हो । जोसेको टिमले स्वीट्जरल्याण्डको क्लबलाई उसकै मैदानमा हराएको हो ।