काठमाडौं- नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा घरेलु फुटबलमा चर्चित स्ट्राइकर अनिल गुरुङ रुस्लान थ्री स्टार क्लबमा अनुबन्धित भएका छन् । ललितपुरे क्लब थ्री स्टारले पोखरेली गुरुङलाई बिहीबार औपचारिक रूपमा क्लबमा अनुबन्ध गरेको हो ।

अनिलले करिब आठ वर्षपछि मनाङ छाडेका हुन् । अनिलले पहिलोपटक २००६ मा मनाङको जर्सी लगाएका थिए । त्यसपछि उनी भारतीय आई लिग क्लबमा पुगेका थिए । पछिल्लोपटक सन् २०१० मा मनाङमा आबद्ध भएपछि उनले निरन्तर आठ वर्ष मनाङबाट व्यावसायिक खेल खेलेका थिए । उनको कप्तानीमा क्लबले ‘ए’ डिभिजन लिगसहित घरेलु फुटबलका अधिकांश उपाधि जितेको थियो ।

घरेलु फुटबलमा थ्री स्टार र मनाङबीच खेलाडी अनुबन्धमा होड नै चल्ने गर्दछ । यसपटक थ्री स्टारले मनाङका कप्तानसमेत रहेका अनिललाई क्लबमा अनुबन्ध गरेर यसको सुरुवात गरेको छ ।

थ्री स्टारले अनिललाई क्लबको जर्सीमा उतार्दै लेखेको छ– ‘अनिल गुरुङलाई थ्री स्टार क्लबमा स्वागत छ ।’ अनिलले गत १५ नोभेम्बरमा घरेलु मैदानमा भएको फिलिपिन्ससँगको खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका थिए ।

पोखराको सहारा क्लबबाट फुटबल करियर सुरु गरेका उनले ब्रिगेड ब्वाइज, थ्री स्टार, मनाङ मस्र्याङ्दी, न्युरोड टिम ९एनआरटी० बाट खेलिसकेका छन् । उनले भारतको शीर्ष डिभिजनको क्लब सिलोङ लाजोङबाट समेत व्यावसायिक फुटबल खेलेका थिए । पहिलोपटक मनाङ जानुअघि उनीले थ्री स्टारबाट पनि खेलेका थिए।

‘ए’ डिभिजन लिग १३ असोजबाट सुरु हुँदै छ । थ्री स्टारले फ्रेन्ड्स क्लब कुपन्डोलसँग १५ असोजमा खेल्दै लिगको सुरुवात गर्नेछ । लिगको उद्घाटन खेलमा न्युरोड टिम ९एनआरटी० र विभागीय त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।