एजेन्सी – भारतीय विदेशमन्त्री सुष्मा स्वराज र पाकिस्तानी समकक्षी शाह महमूद कुरैशीबीच आउँदा हप्ता न्यूयोर्कमा हुने भनिएको वार्ता भारत सरकारले रद्ध गरेको छ ।

जम्मू–कश्मीरमा आतंकवादीहरुले तीन जना भारतीय प्रहरीको अपहरणपछि हत्या गरेको घटनाका कारण भारतले वार्ता रद्ध गरेको हो ।

यसै विषयमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भनेका छन्, ‘पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई देशबीचको वार्ता सुरु गर्न प्रस्ताव गरेका थिए । जसलाई भारतले स्वीकार पनि गरेको थियो ।

तर शुक्रबार जम्मू–कश्मीरमा घटेको घटनापछि इमरान खानको वास्तविक अनुहारको पर्दाफास भएको र आतंकवाद र वार्ता एकसाथ चल्न नसक्ने भारतीय नेताले बताए ।

यसअघि पनि सन् २०१५ मा भारत र पाकिस्तानको बीचमा द्विपक्षीय वार्ता  हुनेवाला थियो । तर त्यतिबेला पनि जम्मू–कश्मीरको एक सैन्य शिविरमा आतंकवादी आक्रमण भएपछि भारतले वार्ता रद्ध गरेको थियो ।

त्यही वर्षको डिसेम्बरमा भारतीय विदेशमन्त्री सुष्मा स्वाराज ‘हार्ट अफ् एसिया’ कार्यक्रममा भाग लिन इस्लामाबाद गएकी थिइन् । तर त्यतिबेला आपसी सम्बन्धका बारेमा विशेष कुराकानी हुन सकेन ।