एजेन्सी-एसिया कप क्रिकेट अन्तर्गत सुपर ४ चरणमा पाकिस्तानले विजयी सुरुआत गरेको छ । शुक्रबारको खेलमा अन्तिम ओभरसम्म चलेको रोमान्चक खेलमा अफगानिस्तानलाई ३ विकेटले हराउँदै पाकिस्तानले महत्त्वपूर्ण अंक जोडेको छ ।

पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५७ रन जोडेको थियो । ओपनर महमद सहजादले २० र इहसनुल्लाहले १० रनको योगदान दिए । तेस्रो नम्बरमा ब्याटिङ गरेका रहमत साहले पनि ५१ बलमा ३६ रन बनाए । चौथो विकेटका लागि अस्गर अफ्घानी र हस्मतुल्लाह शाहिदीले ९४ रनको साझेदारी गरे । कप्तान अस्गर ५६ बलमा २ चौका र ५ छक्कासहित ६७ रन जोड्दै शाहिन अफ्रिदीको बलमा बोल्ड भएका थिए ।

हस्मतुल्लाह भने ९७ रनमा नटआउट रहे । उनले १ सय १८ बलको सामना गर्दा ७ चौका प्रहार गरेका थिए । शाहिदीले अन्तिम ओभरमा ३ ओटा चौका प्रहार गरेका थिए । गुल्बदीन नाइबले ७ बलमा नटआउट १० रन जोडे । पाकिस्तानका लागि मोअहमद नवाजले ३ विकेट लिए । युवा बलर शाहिन अफ्रिदीले २ विकेट तथा हसन अलीले १ विकेट हात पारे ।

प्रतिस्पर्धाताम्क लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले ओपनर फखर जमानलाई पहिलो ओभरमा खाता नखोली मुजिबको बलमा गुमाएको थियो । त्यसपछि इमाम उल हक र बाबर आजमले १ सय ५४ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । इमामले १ सय ४ बलमा ५ चौका र १ छक्कासहित ८० रन जोडे । बाबर भने ९४ बलमा ४ चौका र १ छक्कसहित ६६ रन जोड्दै स्टम्पिङ आउट भए । हरिस सोहेल (१३), सरफराज अहमद (८) र आसिफ अलि (७) ले पनि आक्रामक गतिमा खेल्ने प्रयास गरे ।

पाकिस्तानलाई जितसम्म पुर्याउन म्यान अफ द म्याच शोएब मलिकले बलियो प्रदर्शन गरे । उनले ४३ बलमा नटआउट ५१ रन बनाएका थिए । ३ चौका र १ छक्का प्रहार गरेका मलिकले ५ बलमा १० रन आवश्यक पर्दा छक्का र चौका प्रहार गर्दै जित दिलाएका थिए । अफगानिस्तानका रशिद खानले ३ विकेट लिंदा मुजिब उर रहमानले २ तथा गुल्बदीनले १ विकेट हात पारे ।