एजेन्सी-तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार डुङ्गा दुर्घटना हुँदा मृतकको सङ्ख्या २०७ जना पुगेको तान्जानियाको सरकारी रेडियोले जनाएको छ । यातायातमन्त्री आइज्याक कामवेलेलाई उद्धृत गरी शनिबार रेडियोले मृतक सङ्ख्या २०७ पुगेको जानकारी गराएको हो ।

यसअघि शुक्रबार दिएको जानकारीमा मन्त्री कामवेलेले मृतकको सङ्ख्या कम्तीमा १२६ पुगेको र घटनाबारे थप अपडेट गराउँदै जाने बताका थिए । यद्यपि केही यात्रु डुबेको आशङ्कामा उद्धारकर्मीले शनिबार पनि खोजी कार्यलाई जारी राखेका उनले बताए।

शनिबार दिउसो स्थानीय उप–गभर्नरले घटनामा परेका ४१ जनालाई जोगाउन सफल भएका बताए ।

एमभि नाइरेरे नामक डुङ्गाले २०० जनाभन्दा बढी यात्रुलाई लिएर यात्रा गरिरहेको भनाइका आधारमा खोजी जारी राखिएको हो । डुङ्गाको भारबहन क्षमताभन्दा दोब्बर सङ्ख्या लिएर यात्रा गरेको र यही नै दुर्घटनाको कारण रहेको प्रारम्भिक अनुमान रहेको छ ।