एजेन्सी- स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति एस्पान्योललाई घरेलु मैदानमा १-० ले पराजित गर्दै रियल म्याड्रिड लिग तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
रियलको जितमा पहिलो हाफको अन्त्यतिर मारको एसेन्सियोले गरेको गोल नै निर्णायक सावित भयो । ४१ औं मिनेटमा मिडफिल्डर लुका मोड्रीचको प्रहार एसेन्सियोलाई डीफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।
रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै निकै बेरपछि गोललाई मान्यता दिएका थिए । अन्त्यमा यहि गोल नै खेलमा निर्णायक बन्न पुगेको थियो । अपराजित रियलको लिगमा यो चौथो जित हो ।
पाहुना टोली एस्पान्योलका लागि बोर्जा इग्लेसिसको प्रहार क्रसबारमा लाग्नु दुर्भाग्यपूर्ण रहयो । रियलका पूर्व गोलरक्षक डिएगो लोपेजले खेलको अन्त्यतिर सर्जियो रामोसको प्रहार बचाउँदै खेलमा एस्पान्योलको सम्भावना कायम राखेका थिए ।
रियलले अपेक्षा गरेअनुसार आक्रमण बुन्न सकेको थिएन । रोनाल्डोको अनुपस्थितिमा आक्रमण केहि फितलो भएपनि इस्को, एसेन्सियो र बेन्जेमाको जोडीले प्रयास जारी राखे । प्रशिक्षक जुलेन लोपेटेगुईले ग्यारेथ बेललाई यस खेलमा प्रयोग नै गरेनन् ।
यस जितसँगै रियलले बार्सिलोनालाई उछिन्दै शीर्ष स्थानमा कब्जा जमाएको छ । आइतबार हुने खेलमा बार्सिलोनाले बराबरी वा जित हासिल गरेको खण्डमा रियल दोस्रो स्थानमा झर्नेछ । बार्सिलोनाले आज जिरोनाको सामना गर्दैछ ।
रियलले ५ खेलमा १३ अंक बटुलेको छ भने बार्सिलोना ४ खेलमा १२ अंक जोड्न सफल रहेको छ ।