एजेन्सी-एसिया कप क्रिकेटमा उपाधिको प्रमुख दाबेदार टिम भारत एक खेल अगाडी नै फाइनमा प्रवेश गरेको छ । आइतबार राती भएको सुपर फोरको खेलमा पाकिस्तानलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

ओपनरशिखर धवन र कप्तान रोहित शर्माले शतक प्रहार गरेपछि २ सय ३८ रनको लक्ष्य भारतले ३९ ओभर ३ बलमा मात्र एक विकेटको क्षतिमा पुरा गरेको हो । भारतीय ओपनर धवन र रोहित सामु पाकिस्तानका बलर निरिह सावित भए । भारतलाई सहज जिताउन धवन र शर्माले पहिलो विकेटको लागि २ सय १० रनको साझेदारी गरेका थिए ।

खेलको ३४ अौं ओभरमा हसन अलीको रन आउटको शिकार हुनु अघि धवनले १०० बलमा १६ चौका र २ छक्का प्रहार गर्दै ११४ रन बनाए । त्यस्तै रोहित शर्माले ११९ बलमा ४ छक्का र ७ चौका प्रहार गर्दै १११ रनमा नट आउट रहे । त्यस्तै अम्बाटी रायुडू पनि १२ रनमा नट आउट रहे । पाकिस्तानले आफ्ना ६ बलर प्रयोग गरेपनि कुनै पनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि दुबईमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ३७ रन बनाएको थियो । पाकिस्तानका लागि शोएब मलिकले ९० बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ७८ रन बनाए पनि त्यो टिमको जितको लागि पर्याप्त हुन सकेन । चौथो विकेटका लागि मालिक र कप्तान सरफराज अहमदले १०७ रनको सतकीय साझेदारी गर्दै पाकिस्तानलाई सम्मानजनक स्थितीमा पुर्याए ।

समुह ‘ए’ को विजेता भारत सुपर फोरमा लगातार दुई खेलमा जित निकाल्दै फाइनल यात्रा पक्का गरेको हो । भारतले सुपर फोरको पहिलो खेलमा बंगलादेशलाई ७ विकेटले पराजित गरेको थियो । सुपर फोरबाट अफगानिस्तान लगातार दोस्रो हार खादैँ प्रतियोगिातबाट बाहिरिएको छ ।

अबफाइनलमा सुपर फोरमा एक एक खेल जितेका बंगलादेश र पाकिस्तान मध्य एक टिम जाने छन् । यी दुई बीचको खेल आगमी बुधबार हुने छ । विजेतानै फाइनल प्रवेश गर्ने छ भने पराजित हुने टोली सुपर फोरबाट घर फर्किने छ । भारतले सुपर फोरको अन्तिम खेलमा आगमी मंगलबार अफगानिस्तानसँग खेल्ने छ ।