एजेन्सी- डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान फुटबलमा आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

आइतबार राति भएको खेलमा रेनिजलाई ३–१ ले पराजित गर्दै पीएसजीले आफ्नो अपराजित यात्रा छैटौ खेलसम्म लम्ब्याएको हो। रेनिजको घरेलु मैदानमा पीएसजीको जितमा एन्जल डि मारिया, थोमस म्युनिर र इरिक म्याक्सिम चुप्पोले गोल गरे । रेनिजले आत्मघाती गोल उपहार पाएको थियो ।

खेलको ११औं मिनेटमा पीएसजी एड्रियन राविओटको आत्मघाती गोलबाट पछि परेको थियो । तर, पीएसजीले पहिलो हाफको अन्तिम समयमा बराबरी गोल फर्काउन सफल भयो । डि मारियाले ४५ औं मिनेटमा बराबरी गोल फर्काउन सफलल भए । दोस्रो हाफमा खेलमा फर्किएको पीएसजीले थप दुई गोल गर्दै टिमको जित पक्का गरेको हो ।

६१औं मिनेटमा नेयमारको पासमा थोमस म्युनिरले गोल गरेपछि पीएसजीले खेलमा २–१ को अग्रता लिन सफल भएको थियो । ८३औं मिनेटमा इरिकले गोल गरेपछि पीएसजीले रेनिजमाथि ३–१ को सहज जित निकाल्न सफल भयो ।

जितपछि अपराजित रहेको पीएसजी ६ खेलबाट १८ अंक जोडेर लिगको शीर्ष स्थानमा यथावत छ । रेनिज ८ अंकसहित १०औं स्थानमा छ ।