काठमाडौं- एकपछि अर्को गर्दै फेरि अर्को एसिड आक्रमणको घटना नवलपरासीमा भएको छ। नवलपरासी पूर्वको कावासोतीमा सोमबार राति एक व्यक्तिले स्थानीय महिलामाथि एसिड आक्रमण र चक्कु प्रहार गरेका छन्।

कावासोती नगरपालिका–१६ हरबासकी ३० वर्षीया बसन्ती परियारमाथि स्थानीय ३७ वर्षका बिमल श्रीपालीले एसिड आक्रमण र चक्कु प्रहार गरेका हुन।
उनीमाथि सोमबार राति पौने ९ बजेतिर एसिड आक्रमण तथा चक्कु प्रहार भएको हो। घटना लगत्तै प्रहरीको टोली तत्काल आक्रमणकारी बिमललाई पक्राउ गरेको छ।

एसिड आक्रमणबाट गम्भीर घाइते भएकी बसन्तीलाई भने स्थानीय मध्यविन्दु अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि चितवन मेडिकल पुरानो मेडिकल कलेज भर्ना गरिएको छ। एसिडको छिटा आक्रमणकारी बिमलको शरीरमा पनि लागेको छ ।

बिमलले विवाहका लागि प्रस्ताव गरेकोमा बसन्तीले अस्वीकार गरेपछि आक्रमण गरेको देखिएको छ। घटनास्थलबाट एसिडको बोतल पनि बरामद भएको एसपी थापाले देश सञ्चारलाई जानकारी दिए।

केही दिनअघि एसिड आक्रमणमा परेकी रौतहटकी सम्झना कुमारी दासको मृत्यु भएको भोलिपल्टै नवपरासीमा एसिड आक्रमणको घटना भएको हो । बिमलले बसन्तीलाई एसिड आक्रमण गरेर तीनपटकसम्म छुरा प्रहार गरेको देखिएको छ।