दमक-झापाको दमक नगरपालिका– ६ मा रात्रीकालीन बजार सञ्चालनमा आएको छ।

सोमबार नगर प्रमुख रोमनाथ ओलीले रात्रीकालीन बजारको उद्घाटन गरे।

नमूना बजार व्यवस्थापन समितिका संयोजक तथा वडाध्यक्ष टेकबहादुर थापाका अनुसार दमकको पर्यटन प्रवद्र्धनको विकास गर्न नमूना बजार क्षेत्रमा रात्रीकालीन बजार सञ्चालन गरिएको हो।

सो बजार सञ्चालन गर्न दमक नगरपालिकाको सहयोगमा रु दुई करोडभन्दा बढीको संरचना निर्माण गरिएको हो। सो क्षेत्रमा चारपाङ्ग्रे सवारीसधान निषेध गरिनुका साथै बजार हातामा विश्रामस्थल निर्माण गरिएको छ।

दमकको मुख्य बजार नमूना बजारमा अब राति १० बजेसम्म पसल तथा व्यापार व्यवसाय सञ्चालन हुनेछ। रात्रिकालीन बजारमा बाल उद्यानको समेत व्यवस्था गरिएको छ।