काठमाडौँ- फिफा उत्कृष्ट खेलाडीको अवार्ड क्रोएसियाका कप्तान लुका मोड्रिकले जितेका छन् । विश्वको उत्कृष्ट साविकका विजेता क्रिस्टियानो रोनाल्डो र लिभरपुलका मोहमद सलाहलाई पछि पार्दै फिफा उत्कृष्ट खेलाडीको अवार्ड हात पारेका हुन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार राति सार्वजनिक गरेको अवार्डमा वर्ष खेलाडी घोषित हुँदै मोड्रिचले ‘फिफा द बेष्ट’ अवार्ड जितेका हुन् ।

अवार्ड हात पारेसँगै मोड्रिकले फिफा अवार्डमा रोनाल्डो र लियोनल मेस्सीको एकाधिकारमा समेत ब्रेक लगाइदिएका छन् ।

इंग्ल्यान्डको लन्डनस्थित रोयल फेस्टिबल हलमा विशेष समारोहकाबीच मोड्रिकलाई फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अवार्ड प्रदान गरे ।

मोड्रिकले गएको मे मा रियल मड्रिडबाट तेस्रो त्यो पनि लगातार च्याम्पियन्स लिगको उपाधि उचालेका थिए । यस्तै मोड्रिकले गएको जुलाइमा सम्पन्न विश्वकप फुटबलमा क्रोएसियालाई फाइनलसम्मको यात्रा तय गराएका थिए ।

फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकारको मतको आधारमा वर्ष खेलाडी चयन गरेको हो । फिफाले फ्रान्सको फुटबल म्यागजिनसँगको सहकार्यमा प्रदान गर्दै आएको बालोन डी ओर अवार्डबाट छुट्टिएर दुई बर्ष अघिबाट अलग्गै वर्ष खेलाडीको घोषणा गर्दै आएको छ ।

फिफा वर्ष खेलाडी जितेपछि मोड्रिचले सपना पुरा भएको बताए । मोड्रिचले यो अवार्ड टिमका सबै सदस्यहरुको सहयोगले पाउन सफल भएको समेत बताए ।

रियल मड्रिडका प्ले मेकर मोड्रिक गत सिजन रियलले च्याम्पियन्स लिग जित्दा महत्वपूर्ण खेलाडी थिए । उनको प्रेरणादायी भूमिकाका कारण क्रोएसियाले पहिलोपटक विश्वकपको फाइनल यात्रा गरेको थियो । यस्तै रुस विश्वकप उत्कृष्ट खेलाडी बन्दै मोड्रिचले गोल्डेन बल जितेका थिए । मोड्रिक यसै वर्ष युरोपियन वर्ष खेलाडी घोषित भएका थिए ।