काठमाडौँ- बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया निर्मला पन्तको घटनाबारे अनुसन्धान गर्न बनेको उच्चस्तरीय छानविन समितिले अनुसन्धानको प्रतिवेदन सरकारलाई बुझाएको छ।

१३ वर्षीया पन्तको हत्या प्रकरणबारे अनुसन्धान गर्न गृहमन्त्रालयद्धारा गठित छानबिन समितिले एक महिना लामो अनुसन्धानपछि मंगलबार गृहमन्त्री राम बहादुर थापालाई प्रतिवेदन बुझाएको हो ।

निर्मला हत्या प्रकरणको अनुसन्धानमा खटिएका प्रहरीले नै लापरबाही गरेपछि अनुसन्धान विवादास्पद बन्दै गएको थियो । सोही अनुसन्धान पूरा गर्नका लागि सरकारले भदौ ७ मा छानबिन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो ।

१५ दिनभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउनुपर्ने भनिएपनि अनुसन्धान जटिल बन्दै गएपछि १५ दिन म्याद थप गरिएको थियो। समितले बुझाएको प्रतिवेदनमा प्रहरीको अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको छ।