सरकारले आयात रोकेको केही दिनमै थोक व्यापारीले मिलोमतो गरी चिनीको मूल्य बढाएका छन्। सरकारले केही दिनअघि मात्र भारतसहित तेस्रो मुलुकबाट चिनी आयातमा प्रतिबन्ध लगाएको थियो।

चिनीको आपूर्तिमा कमी आएको मौकाछोपी मिलेमतोमा व्यापारीले मूल्य वृद्धि गरेका हुन्। उनीहरूले सार्वजनिक सवारीसाधनमा गरिएको भाडा वृद्धिलाईसमेत मूल्य वृद्धिको कारण देखाएका छन्।

सरकारले हालैमात्र सवारीसाधनमा १० प्रतिशत भाडा बढाएको छ। आयात प्रतिबन्ध हुनु अघिसम्म थोकमा प्रतिकिलो ६२ देखि ६४ रुपैयाँ मूल्यमा बिक्री भएको चिनी अहिले ७२ रुपैयाँ पुगेको छ। खुद्रामा ८५ देखि ९५ रुपैयाँमा बिक्री हुन थालेको छ।

भाटभटेनीमा भने चिनीको खुद्रा मूल्य ५९ रुपैयाँ प्रतिकिलो छ। यस्तै साल्ट ट्रेडिङले प्रतिकिलो ७२ रुपैयाँमा बिक्री गर्दै आएको छ।

खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले ढुवानी खर्च वृद्धि र आयातमा सरकारले लगाएको प्रतिबन्धका नाममा थोक व्यापारीले मिलोमतो गरी चिनीको मूल्य वृद्धि गरेको जानकारी दिए। ‘यी दुई कारण देखाएर थोक व्यापारीले चिनीको आफूखुसी मूल्य कायम गरेका छन्। मूल्य वृद्धि गरी आम उपभोक्तालाई दसैंको मुखमै सास्ती व्यहोर्न बाध्य बनाइयो’, अध्यक्ष बज्राचार्यले भने, ‘हामीले पनि थोक व्यापारीसँग वृद्धि भएको नयाँ मूल्यमा चिनी खरिद गर्नुपर्छ। महँगोमा खरिद गरी सस्तोमा व्यापार गर्न सक्दैनौं।’

खुद्रा व्यापार संघका अनुसार पछिल्लो समय ढुवानी भाडा बढेको भन्दै थोक व्यापारीले चामल, खानेतेल, मैदालगायतको पनि मूल्य बढाएका छन्। केही दिनअघिसम्म खुद्रामा एक सय ३० देखि एक सय ३३ रुपैयाँ प्रतिलिटरमा बिक्री हुँदै आएको सोयाविन खानेतेलको मूल्य अहिले थोकमा एक सय ३५ पुर्याइएको छ।

यो तेलको खुद्रा मूल्य प्रतिलिटर एक सय ४५ पुगेको छ। यस्तै एक सय ४५ रुपैयाँ प्रतिलिटर बिक्री हुने सनफ्लावर तेलको मूल्य अहिले एक सय ५५ पुर्याइएको छ। यसैगरी ४८ रुपैयाँ प्रतिकिलोमा पाइने मैदा ५५ पुर्याइएको छ।