एजेन्सी – पोर्चुगलका कप्तान तथा युभेन्ट्स फरवार्ड क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगमा एक खेलका लागि प्रतिबन्धित हुने भएका छन् । गत साता युभेन्ट्सले भ्यालेन्सियाविरुद्ध २-० को जित दर्ता गर्दा रोनाल्डो रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

उक्त खेलमा जेसन मुरिलोलाई ३० औं मिनेटमा हात लगाएको आरोपमा रेफ्रीले रातो कार्ड देखाएका थिए । रोनाल्डोले रातो कार्ड पाएपछि भावुक हुँदै रेफ्रीको निर्णयमा असहमति जनाउँदै झन्डै १ मिनेट लगाएर मैदान छाडेका थिए । जसकारण उनीमाथि यूईएफएले थप प्रतिबन्ध लगाउने सम्भावना पनि बढेको थियो । तर बिहीबार यूईएफएले जारी गरेको विज्ञप्तिमा उनले एक खेल मात्र गुमाउने उल्लेख गरिएको छ ।

३३ वर्षीय रोनाल्डोले दुई खेल गुमाएको भए समूह चरणको तेस्रो खेलमा म्यानचेस्टर युनाइटेडको सामना गर्न पाउने थिएनन् । अब उनले स्विस च्याम्पियन योङ ब्वाइजविरुद्ध खेल्ने छैनन् । युभेन्ट्स र युनाइटेडको खेल अक्टोबर २३ तारिखमा ओल्ड ट्राफर्डमा खेलिनेछ । रोनाल्डोले करिअरको उचो उडान त्यहि क्लबबाट लिएका थिए । पछिल्लो पटक रियल म्याड्रिडमा छँदा रियल र म्यानचेस्टर युनाइटेड आमनेसामने हुँदा उनले गोल गरेका थिए ।

रियालमा ९ वर्ष बिताएर युभेन्ट्स आएका रोनाल्डोले नयाँ क्लबका लागि तीन गोल गरिसकेका छन् ।सुरुआती तीन खेल गोलविहिन रहेपनि उनले त्यसपछि दुई खेलमा गोल गरेका हुन् । उनले च्याम्पियन्स लिगमा भने गोलको खाता खोल्न तेस्रो खेलको नै प्रतिक्षा गर्नुपर्ने भएको छ । रोनाल्डोको अनुपस्थितिमा युभेन्ट्सले फरवार्ड मारियो मान्जुकीचसँगै डग्लस कोस्टा, जान क्वाडराडो, फेडेरिको बर्नार्डेसकी लगायतको भर गर्नेछ ।

रोनाल्डोले च्याम्पियन्स लिगमा आफ्नो प्रभुत्व नै खडा गरेका छन् । उनले पछिल्लो ५ सिजनमा ४ पटक उपाधि जित्नुका साथै सर्वाधिक गोलकर्ताको उपाधि पनि आफ्नै नाम गरेका छन् । घरेलु लिगमा वर्चस्व जमाएको युभेन्ट्सले रोनाल्डोलाई च्याम्पियन्स लिगलाई नै लक्षित गरेर अनुबन्ध गरेको थियो । तर उनले सुखद सुरुआत भने दिलाउन सकेनन् ।