एजेन्सी- अमेरिकाको सर्वोच्च अदालतको न्यायाधीश पदमा राष्ट्रपति ट्रम्पले मनोनित गरेका ब्रेट क्याभानोले उनीविरुद्ध लागेका यौन आक्रमणका आरोपहरूको कडा खण्डन गरेका छन्।
सिनेटको सुनुवाइ समितिमा उनीमाथि आरोप लगाएकी क्रिस्टिन ब्लाजे फोर्डले पनि बयान दिएकी छन्। क्याभानोका कारण आफ्नो जीवनमा भयंकर असर परेको उनले बताइन्।
बयान दिने क्रममा क्रिस्टिन ब्लाजे फोर्डले विगतमा भएको घटना स्मरण गर्दै त्यतिखेर क्याभानोले उनको मुख थुनेर बलात्कारको प्रयास गर्दा आफ्नो ज्यानै जान लागेको जस्तो डर लागेको बताइन्।
आँसु थाम्ने प्रयास गर्दै बोलेकी उनले त्यतिखेर आफू १५ वर्षकी भएको र त्यस्तो आक्रमण गर्ने शतप्रतिशत क्याभानो नै भएको बताइन्। क्याभानोले आफ्नो लुगा जबरजस्ती खोलिदिएको, ओछ्यानमा पल्टाइदिएको र दुर्व्यवहार गरेको भन्दै सो घटनाले जीवनभर प्रभाव पारिरहेको फोर्डले बताइन्।
क्याभानोले उनीमाथि लागेका आरोपहरूलाई आक्रोशपूर्ण रूपमा अस्वीकार गरे। क्याभानोले अन्य महिलाले लगाएका आरोप पनि अस्वीकार गरे।
विपक्षमा रहेका मानिसहरूले आफ्नो मनोनयन रोक्न व्यापक अभियान गरेको उनले बताए।राष्ट्रपति ट्रम्पले उनको बयानलाई इमानदार भन्दै सिनेटलाई उनलाई अनुमोदन गर्न भनेका छन्।
ती बयानले अमेरिकाको सबभन्दा शक्तिशाली न्यायालयको स्वरूप एक पुस्ताकै निम्ति निर्धारण गर्न सक्छ। सिनेटको पूर्ण बैठकमा सो मनोनयनलाई मतदानमा लैजानु अघि उक्त समितिले त्यसको अनुमोदन गर्नुपर्छ। सो समितिको अर्को बैठक शुक्रवार बस्दैछ।
तर समितिका सभापति रिपब्लिकन सिनेटर चक ग्रास्लेले अझै ढिलाइ हुन सक्ने संकेत दिएका छन्। क्याभानोले आफ्नो लुगा जबरजस्ती खोलिदिएको, ओछ्यानमा पल्टाइदिएको र दुर्व्यवहार गरेको भन्दै सो घटनाले जीवनभर प्रभाव पारिरहेको फोर्डले बताइन्
समितिमा रहेका सबै १० जना डेमोक्र्याटिक सिनेटरहरूले चाहिँ राष्ट्रपति ट्रम्पलाई उक्त मनोनयन तत्काल फिर्ता लिन आह्वान गरेका छन्। आगामी महिना हुने संसदीय चुनाव अगाडि नै उक्त मनोनयन अनुमोदन गरिसक्न रिपब्लिकनहरू चाहन्छन् किनकी यतिखेर सिनेटमा उनीहरूको पक्षमा ५१ सदस्य र विपक्षीका पक्षमा ४९ सदस्य छन्।
चुनावपछि आफ्नो सिट घट्न सक्ने उनीहरूलाई लागेको छ। अमेरिकाको सर्वोच्च अदालतमा नियुक्त हुने न्यायाधीश जीवनभर सो पदमा रहने व्यवस्था छ। -बीबीसी