काठमाडौं, असोज १२ । राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तिमगरले अन्ततः सहिद स्मारक ए डिभिजन लिगमा ‘डेब्यू’ गर्ने पक्का भएको छ । सहिद स्मारक ए डिभिजन लिग सुरु हुन दुई दिनमात्र बाँकी रहँदा बिहीबार २१ वर्षे विमलले नवप्रवेशी च्यासल युथ क्लबबाट सम्झौता गरेपछि उनको डेब्यू पक्का भएको हो ।

विमल र क्लबबीच बिहीबार सम्झौता भइसकेको जानकारी दिदै च्यासलका अध्यक्ष रमेश ब्यञ्जनकारले क्लबकोतर्फबाट अखिल नेपाल फुटबल संघ एन्फामा शुक्रबार दर्ता गर्नेछौं । राष्ट्रिय टोलीका फरवार्डलाई आफ्नो टोलीमा आबद्ध गराउन पाउँदा खुसी लागेको र यसले टोलीका अन्य खेलाडीमा पनि हौसला मिल्ने अध्यक्ष ब्यञ्जनकारले भने ।

गत सिजन रुस्लान थ्री स्टार क्लबबाट घरेलु फुटबल खेलेका उनलाई टोलीले यसपटक अनुबन्ध गरेन । जसका कारण विमल कुन क्लबमा आबद्ध हुने भन्ने निश्चित थिएन ।

१४ वर्षकै उमेरमा राष्ट्रिय टोलीमा डेब्यू गरेका विमलले अहिले घरेलु ए डिभिजन लिग खेलेका छैनन् । २०७० यता लिग पहिलो पटक आयोजना हुँदैछ । विमलले २०७२ को राष्ट्रिय लिग भने सुदूरपश्चिम ११ बाट खेलेका थिए ।

एन्फा एकेडेमीका उत्पादन विमल तीन वर्षअघि नेपालले यू १९ साफ च्याम्पियनसिपको उपाधि जित्दा टोलीको कप्तान थिए । त्यसअघिबाटै उनी नेपाली टोलीको नियमित सदस्य रहँदै आएका छन् ।

गत महिना बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाललाई सेमिफाइनल सम्म पु¥याउनमा उनको भूमिका महत्वपूर्ण रहेको थियो । पाकिस्तानविरुद्ध २–१ को हारमा गोल गरेका विमलले समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई २–० ले जित्दा फ्रिकिकमार्फत सनसनीपूर्ण गोल गरेका थिए । नेपालका लागि ३१ क्याप जितेका विमलले ८ अन्तर्राष्ट्रिय गोल समेत गरेका छन् ।

यू १९ जित्दाका उनका साथी मध्ये अनन्त तामाङ र सुनिल बल थ्री स्टारमा आबद्ध भएका छन् भने अर्का स्टार अन्जन विष्ट लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लबबाट खेल्ने तयारीमा छन् । यू १९ का पूर्व चार स्टार अहिले राष्ट्रिय टोलीका नियमित सदस्य हुन् ।