काठमाडौं- रेखा पौडेलले दोहोरो ह्याट्रिक पूरा गरेको खेलमा नेपालले आजबाट शुरु भएको साफ यू–१८ महिला च्याम्पियनसिपमा पाकिस्तानमाथि फराकिलो जितसहित विजयी शुरुवात गरेको छ ।

नेपालले पाकिस्तानमाथि १२–० को फराकिलो जित दर्ता गरेको हो । चाम्लिङथाङ रंगशालामा भएको एकपक्षीय खेलमा नेपाललाई जिताउन रेखा पौडेलले ७ गोल गरिन् । कप्तान सरु लिम्बु, रश्मी कुमारी घिसिङ, एलिसा जिम्वा, मन्जली कुमारी योन्जन र मनिषा राउतले समान १ गोल गरिन् ।

एकपक्षीय खेलमा नेपालले खेलको पाँचौ मिनेटमा रेखा पौडेलको गोलबाट खेलमा अग्रता बनाएको थियो । त्यसपछि १७ र १९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् । त्यसपछि रेखाले ३२ र ३८ औं मिनेटमा गोल गरेपछि आफ्नो गोल सङ्ख्या ५ पु¥याएकी थिइन् । पहिलो हाफको इन्जुरी समयमा कप्तान सरु लिम्बुले गोल गरेपछि नेपाले पहिलो हाफमा ६–० को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा पनि नेपालले ६ गोल गर्न सफल भयो । ६७औं मिनेटमा रश्मी कुमारी घिसिङले गोल गरेपछि नेपालले खेलमा ७–० को अग्रता बनायो । त्यसपछि ७१औं मिनेटमा रेखाले गोल गर्दै खेलमा दोहोरो ह्याट्रिक पूरा गरिन् । उनले ७४औं मिनेटमा अर्काे गोल थप्न सफल भईन् ।

त्यसपछि एलिसा जिम्वाले ८२औं मिनेट, मन्जली कुमारी योन्जनले ९७औं र मनिषा राउतले इन्जुरी समयमा गोल गर्दै नेपाललाई १२–० को फराकिलो जित दिलाए ।

यसअघि शुक्रबारै भएको उद्घाटन खेलमा भारतले आयोजक भुटानमाथि ४–० को फराकिलो जित निकाल्दै विजयी शुरुवात गरेको थियो । नेपालले अब २ अक्टोबरमा बलियो प्रतिद्धन्द्धी बंगलादेशसँग खेल्नेछ ।