स्पेनिस ला लिगा फुटबलमा गत राति भएको सिजनको पहिलो मड्रिड डर्बी बराबरीमा सकिएको छ । लिगको सातौं हप्ताको खेलअन्तर्गत रियल मड्रिडको घरमा भएको खेलमा एथ्लेटिको मड्रिडले घरेलु टोली रियललाई गोलरहित बराबरीमा रोकेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेट र थप गरिएको समयमा पनि दुवै पक्षबाट कुनै गोल हुन सकेन । र, खेल ०–० को अवस्थामा सकियो ।

तुलनात्मक रूपमा रियलले खेलमा बढी प्रभाव जमाए पनि गोल गर्न भने सकेन । उसले खेल अवधिभर ६६ प्रतिशत बल आफ्नो पक्षामा राखेको थियो भने १५ प्रहार गरेको थियो । तर, उसले घरेलु मैदानमा १ गोल पनि गर्न नसक्दा अंक बाँड्न बाध्य भयो ।

यससँगै रियलले अंक तालिकाको शीर्ष स्थानमा उक्लिने मौकासमेत गुमाएको छ । बराबरीपछि बार्सिलोनालाई पछि पार्दै अंक तालिकाको सिरानमा उक्लिने मौका रियलले गुमायो ।

यो खेलमा रियल र एथ्लेटिको जसले जिते पनि अंक तालिकामा शीर्ष स्थानमा उक्लिने अवसर थियो । तर, बराबरीले दुवैले अंक बाँड्न बाध्य भए । र, शीर्षमा उक्लिने मौका गुमाए ।

शीर्ष स्थानको बार्सिलोनाले पनि गत राति आफ्नो घरमा एथ्लेटिक बिल्बाओसँग १–१ को बराबरी खेलेको थियो । पछिल्ला दुई खेलमा बार्सिलोना र रियल दुवैले एक खेल हारेका छन् भने एक खेल बराबरी गरेका छन् ।

अब अंक तालिकामा ७ खेलबाट कूल १४ अंकसहित लिगको शीर्ष स्थानमा बार्सिलोना कायमै छ । दोस्रो स्थानमा समान ७ खेल खेलेको रियल छ भने उसको खातामा १४ अंक नै भए पनि ऊ गोलअन्तमा पछाडि छ ।

त्यस्तै, तेस्रो स्थानमा एथ्लेटिको मड्रिड छ । उसको खातामा ७ खेलबाट १३ अंक भएको छ । चौथो स्थानमा सेभिल्ला रहेको छ । उसले पनि समान ७ खेलबाट १२ अंक जोडेको छ । लिगका शीर्ष ४ टोलीबीच अंक तालिकामा कडा टक्कर देखिएको छ ।