एजेन्सी – पछिल्लो समय चीनमा ६० वर्ष भन्दा माथिका वृद्धहरुका लागि खोलिने छुट्टै विद्यालयको सङ्ख्या बढ्दै गएको पाइएको छ । अहिले नै चीनभरमा ७० हजार यस्ता विद्यालय स्थापित भइसकेका छन् ।

तर यसको सङ्ख्यामा लगातार वृद्धि भइरहेपनि भर्ना पाउनकै लागि धेरै पेन्सनरहरु विद्यालय बाहिरै क्याम्प लगाएर बस्ने गरेको  द इकोनोमिस्टले जनाएको छ । यस प्रकारका विद्यालयमा उनीहरुले आफूलाई मन लागे अनुसार विभिन्न विषयमा अध्ययन गर्न पाउँछन् । जसमा अङ्ग्रेजी देखि अनलाइन सपिङ र नृत्यसम्म समावेश गरिएको हुन्छ ।

यसरी चीनमा वृद्धहरुका लागि विद्यालय खोलिने प्रवृत्तिको सुरुवात १९७० मा भएको थियो । तर त्यसबेला यो सेवा अवकाश लिएका कम्युनिष्टहरुका लागि मात्र उपलब्ध थियो । अहिले भने वृद्धलाई मात्र पढाइने विद्यालयहरु सबै पेन्सनरका लागि खुला गरिएको छ । यसरी सन् २०१७ मा मात्र ८० लाख भन्दा बढी वृद्धहरु भर्ना भएको पाइएको थियो जुन चीनको ६० वर्ष माथि उमेर समुहको ३ प्रतिशत जनसङ्ख्या मात्र हो ।

यसकारण पनि अहिले विभिन्न विषयका कक्षाहरुको मागमा अत्याधिक वृद्धि भइरहेको हुँदा चीनको सबैभन्दा ठूलो शहर सांघाइमा समेत ६ मध्ये एकले मात्र र उता हाङजोउ प्रदेशमा झन १६ मा एक वृद्ध विद्यार्थीले भर्ना पाउने गरेका छन् ।

यस्तोमा सन् २०५० सम्म चीनमा ६० वर्ष माथि उमेर समुहको जनसङ्ख्या ४८ करोड ७० लाख भन्दा बढी पुग्ने अनुमान गरिएको छ जुन चीनको ३५ प्रतिशत जनसङ्ख्या हो । त्यसैले २०२० सम्मकै लागि पर्याप्त कक्षाकोठाको व्यवस्था सुनिश्चित गर्न कठिन देखिएकाले चिनियाँ निकायले सबै प्रदेशमा वृद्धहरुका लागि छुट्टै विद्यालय खोल्ने योजना बनाइसकेको छ ।