फ्रान्सेली लिग वन अन्तर्गत शनिबार लिगको शत प्रतिशत नतिजालाई निरन्तरता दिँदै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले निसलाई ३-० ले पराजित गरेको छ । पीएसजीको जितमा नेयमारले दुई तथा एनकुन्कुले एक गोल गरे ।
खेलको २२ औं मिनेटमा ब्राजिलियन सुपरस्टार नेयमारले पेनाल्टी क्षेत्रबाहिर बाट गरेको प्रहार गोलमा परिणत भएको थियो । दोस्रो हाफको सुरुआतमै एनकुन्कुले गोल गर्दै अग्रता बढाए । ५९ औं मिनेटमा निसका विलयन सिप्रिएन दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरीए । १० खेलाडीमा सिमित निसविरुद्ध अतिरिक्त समयमा नेयमारले सहज गोल गर्दै जित पक्का गरेका थिए । उनलाई एमबाप्पेले असिस्ट दिएका थिए ।
यस जितसँगै पीएसजीले लिगको सुरुआती आठ लिग खेलमा लगातार जित हासिल गर्दै कीर्तिमान बराबरी गरेको छ । यसअघि सन् १९६०-६१ सिजनमा एएस मोनाकोले पनि सोहि रेकर्ड कायम गरेको थियो । पीएसजी यस जितसँगै शीर्ष स्थानमा ९ अंकको अग्रता बनाउन सफल रहेको छ । लिगको साविक विजेता रहेको पीएसजीलाई प्रशिक्षक थोमस टुचेलले अपराजित बनाउने लक्ष्य लिएका छन् ।
टुचेलले शनिबार स्टार फरवार्ड एडिन्सन कभानीलाई बेन्चमा राखेका थिए । उनले विश्रामको कमिका कारण सिजनको बीचतिर खेलाडी घाइते हुने भएकाले लगातार आफ्ना खेलाडीलाई विश्राम दिने गरेका छन् । पीएसजीलेयसै साताको मध्यमा च्याम्पियन्स लिग र अन्त्यमा लिग वन अन्तर्गतका खेलहरु खेल्नेछ । पछिल्लो सिजन उचित विश्राम नपाएका कारण नेयमार र एमबाप्पे घाइते भएका थिए ।