इटालियन सिरी ए अन्तर्गत शनिबार लिगको साविक विजेता युभेन्ट्सले दोस्रो स्थानको नेपोलीलाई ३-१ ले पराजित गरेको छ । लिगको लगातार सातौं जितसँगै युभेले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाउन सफल भयो ।

नेपोलीले खेलमा उत्कृष्ट सुरुआत लिएपनि त्यसलाई बचाउन नसक्दा खेलमा पराजय भोग्नुपर्यो ।  ड्रीज मर्टेन्सले दशौँ मिनेटमा खाली पोस्टमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।  तर क्रिस्टियानो रोनाल्डोले आफ्नो स्तरअनुसार प्रदर्शन गर्दै खेल युभेको पोल्टामा पारे । युभेले गरेका तीनै गोलमा रोनाल्डोको हात रहेको थियो । मारियो मान्जुकीचले दुई गोलको योगदान दिएका थिए ।

खेलको २६ औं मिनेटमा रोनाल्डोको क्रसमा मान्जुकीचले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । दोस्रो हाफको सुरुआतमा रोनाल्डोको कडा प्रहार पोस्टमा लगेर फर्कंदा मान्जुकीचले रिबाउन्डमा सहजै गोल गर्दै युभेलाई अग्रता दिलाएका थिए । त्यसको केहि मिनेटमा नेपोली १० खेलाडीमा सिमित भयो । नेपोलीका मारको रुइ पाउलो डिबालालाई फल गरेपछि दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

लिओनार्डो बोनुचिले युभेको लागि तेस्रो गोल गरे । ७६ औं मिनेटमा रोनाल्डोको फ्लिकमा बोनुचीले गोल गरेका थिए । पछिल्लो ७ सिजन लिग उपाधिमा कब्जा जमाएको युभेले आठौँ उपाधि जित्ने लक्ष्य राखेको छ । तर त्यसका लागि युभेन्ट्सले फरवार्डहरुको दायरा फराकिलो पार्नुपर्ने देखिन्छ । यसै सिजन क्लबमा आएका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले अपेक्षित प्रदर्शन गरिरहेका छैनन् ।

हालसम्म सिजनका सबै खेल जितेको युभेका लागि रोनाल्डोले खेलेका ८ मध्ये २ खेलमा मात्र गोल गरेका छन् । शनिबार पनि उनले पाँच प्रहार पोस्टमा गरेपनि गोल गर्न भने असफल रहे । च्याम्पियन्स लिगमा भ्यालेन्सियाविरुद्ध रातो कार्ड खाएका कारण अर्को खेल गुमाउने रोनाल्डो लिगमा गोल गर्न आतुर छन् ।