काठमाडौं -साहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार हुने खेलमा सरस्वती युवा क्लब र सीएमजी क्लब संकटा आमनेसामने हुँदैछन् । लिगको फेरबदल गरिएको तालिका अनुसार दुई टोली एन्फा कम्प्लेक्समा खेल्नेछन् ।

संकटा र सरस्वती दुवैले यस सिजन मध्ये तालिकामा रहने लक्ष्यका साथ मैदानमा उत्रने बताएका छन् । सरस्वतीले अधिकांश स्थानीय र केहि विदेशी खेलाडीको सम्मिश्रण गरेर टोली तयार पारेको छ भने संकटाले युवा र अनुभवी खेलाडीको आडमा लिगको शीर्ष ६ मा अटाउने जमर्को गरेको छ ।

सरस्वतीका प्रशिक्षक प्रदिप नेपालले यसअघि पनि लिगको जिम्मेवारी सम्हालिसकेका छन् । संकटाका प्रशिक्षक सल्यान खड्गी भने पहिलो पटक लिगमा जिम्मेवारी सम्हाल्दैछन् । पछिल्लो पटक लिग खेल्दा उनी टोलीका कप्तान रहेका थिए । मोफसलका प्रतियोगितामा सफल नतिजा निकालेपछि उनले प्रशिक्षकको जिम्मेवारी पाएका हुन् ।

संकटाले थ्री स्टारका पूर्व मिडफिल्डर विष्णु गुरुङसहित लक्ष्मण रुचाल, अमित तामाङ, लगायतका खेलाडी छन् । सरस्वतीले पनि अनुभवी फरवार्ड राजकुमार घिसिङलाई क्लबमा आबद्ध गराएको छ । दुवै टोलीमा विदेशी खेलाडी रहेका छन् र सुरुआती रोजाइमा खेल्ने सम्भावना प्रबल छ ।

शनिबार भएको लिगको पहिलो खेलमा आर्मी र एनआरटि २-२ को बराबरीमा रोकिएका थिए । आर्मीले अपेक्षित प्रदर्शन गर्न नसक्दा अन्तिम मिनेटको गोलमा अंक बाँड्नु पारेको हो । राष्ट्रिय टोलीले बंगबन्धु कप खेल्ने भएसँगै लिग आजको खेलपछि स्थगित हुने छ ।