काठमाडौं – बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको पहिलो खेलमै साबिकको विजेता नेपाल पराजित भएको छ । मंगलबार भएको समूह चरणको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग २ – ० ले पराजित भएको हो ।

सिल्हेटस्थित जिल्ला स्टेडियममा ताजकिस्तानलाई जित दिलाउन फाक्त उलोइथ फतकुल्लो र तुरुनोभ कोम्रोनले एक एक गोल गरे ।

खेलको २७ औं मिनेटमा फाक्त उलोइथको पेनाल्टी गोलबाट ताजकिस्तानले सुरुवाती अग्रता बनाएको हो  । अनन्त तामाङले फल गरेपछि पाएको पेनाल्टीमा ताजकिस्तानका उलोइथले गोल गर्दै १ – ० को अग्रता लिएको ताजकिस्तानले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको ७२ औं मिनेटमा कोम्रोनले गोल गर्दै ताजकिस्तानलाई २ – ० को जित दिलाए ।

नेपालले फिफा वरीयतामा माथि रहेको ताजकिस्तानविरुद्ध उत्कृष्ट खेल पस्कन सकेन । ताजकिस्तानविरुद्ध नेपाललाई दुई मुख्य खेलाडीको अभाव खड्किएको थियो । गत महिना साफ च्याम्पियनसिप खेल्दाका गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द नेपाली टोलीमा छैनन् । किरणको स्थानमा विशाल श्रेष्ठ र रोहितको स्थानमा तेज तामाङलाई टिममा राखिएको छ ।

समूह ’ए’ मा रहेको नेपालले अब दोस्रो खेलमा अर्को बलियो टिम प्यालेस्टाइनसंग शनिबार खेल्नेछ । नेपालले गत वर्ष फाइनलमा बहराइनलाई ३–० ले हराएर बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो ।