एजेन्सी – युरोपियन क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनिस क्लब रियल मड्रिड पराजित भएको छ ।

साबिकको विजेता समेत रहेको रियल मंगलबार राति १० खेलाडीमा सिमित रुसी क्लब सीएसकेए मस्कोसंग १ – ० ले पराजित भएको हो ।घरेलु मैदानमा मस्कोलाई जित दिलाउन निकोला भ्लासिचले निर्णायक गोल गरे । खेलको दोस्रो मिनेटमा निकोलाले गरेको गोल नै मस्कोको जितको आधार बन्यो ।

खेल अवधिभर घरेलु टोलीलाई दबाबमा राखेपनि रियलले उसको डिफेन्स चिर्न सकेनन् । खेलको अन्तिम समयमा इगोर एकिनफिभले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि मस्को १० खेलाडीमा सिमित भएको थियो ।

रियलमाथि जित निकाल्दै मस्को समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ । मस्कोले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा मस्कोले भिक्टोरियासंग बराबरी खेलेको थियो ।२ खेलबाट ३ अंक जोडेको रियल तेस्रो स्थानमा छ । रियलले पहिलो खेलमा रोमालाई हराएको थियो ।

यसै समूहको अर्को खेलमा रोमाले भिक्टोरिया प्लेजेनलाई ५ – ० ले हराएको छ । जितसंगै ३ अंक जोडेको रोमा दोस्रो स्थानमा छ । भिक्टोरिया १ अंकसहित पुछारमा छ ।