एजेन्सी – इन्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगमा पहिलो जित दर्ता गरेको छ ।

समूह चरणको पहिलो खेलमा पराजित सिटीले मंगलबार राति जर्मन क्लब होफेनहाइमलाई २ – १ ले हराएर पहिलो जित निकालेको हो ।

सिटीले होफेनहाइमलाई सुरुवाती अग्रता उल्टाएर उसैको मैदानमा हराएको हो । सिटीलाई जित दिलाउन सर्जियो अग्युरो र डेभिड सिल्भाले समान १/१ गोल गरे । होफेनहाइमका इशक बेल्फोदिलले एक गोल गरे ।

सिटीविरुद्ध घरेलु टोलीले पहिलो मिनेटमै बेल्फोदिलको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको आठौं मिनेटमा अग्युरोले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सिटीले एक गोल गर्दै जित हात पार्यो । खेलको ७८ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई महत्वपूर्ण ३ अंक दिलाए ।

जितसंगै समूह ‘एफ’ को सिटीले २ खेलबाट ३ अंक जोडेको छ । र, सिटी तालिकाको दोस्रो स्थानमा छ । सिटी पहिलो खेलमा लियोनसंग पराजित भएको थियो ।

यसै समूहको अर्को खेलमा लियोनले शख्तर डोनेस्कटसंग २- २ गोलको बराबरी खेलेको छ ।

यस समूहमा लियोन ४ अंक जोडेर शीर्ष स्थानमा छ । २ अंक जोडेको शख्तर तेस्रो र १ अंक जोडेको होफेनहाइम अन्तिममा रहेको छ ।